विद्यालयको सहयोगका लागि एक करोड दान

काठमाण्डु टुडे २०७१ मंसिर १२ गते ८:२९ मा प्रकाशित

झापा, १२ मंसिर– झापा सुरुंगाको एक विद्यालयको सहयोगका लागि एक करोड रुपैंया चन्दा सहयोग प्राप्त भएको छ । झापाको शनिअर्जुन नगरपालिका–५ लक्ष्मीपुरस्थित लक्ष्मी माविका लागि चन्दा सहयोग र पुराण वाचनबाट एक करोडभन्दा बढी दान प्राप्त भएको विद्यालयले जनाएको छ ।

शैक्षिक गुणस्तर अभिवृद्धि र आगामी शैक्षिक वर्षदेखि उच्चमावि तह सञ्चालनका लागि विद्यालयले     श्रीमद् भागवत सप्ताह पुराण पनि लगाएको थियो । त्यसमार्फत् दाताबाट ६५ लाखभन्दा बढी नगद र रु ३५ लाख बढीको जग्गा प्राप्त भएको विद्यालयका प्रधानाध्यापक वीरेन्द्रप्रसाद गुप्ताले जानकारी दिए ।

विद्यालयको विकासका लागि पुराणमार्फत शनि अर्जुननगरपालिका–५ का उत्तमकुमार श्रेष्ठले रु ११ लाख ११ हजार १११, लोकप्रसाद पराजुलीले रु ११ लाख ५५ हजार ५५५, कमल आचार्यले रु आठ लाख पाँच हजार ५५५ नगद प्रदान गरेको विद्यालयका प्रध्यानाध्यापक गुप्ताले बताए ।

मंसिर २ गतेदेखि ९ गतेसम्म आयोजना गरिएको पुराणमा पण्डित कुवेर सुवेदीले कथा वाचन र पाठ पारायण पण्डित राज सुवेदीले गरेका थिए ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us