
काठमाण्डु, १२ मंसिर– धादिङको गजुरीस्थित सैनिक व्यारेकबाट हतियारसहित भागेर एकाएक चर्चामा आएका एक पूर्वमाओवादी लडाकु कमाण्डरले नेत्रविक्रम चन्द ‘विप्लव’ लाई साथ दिने भएका छन् ।
विप्लवले मोहन वैद्यसँग सम्बन्ध विच्छेद गरेको एक साता नबित्दै पूर्वलडाकुका बटालियन कमाण्डर प्रकाश खनाल ‘सैलेश’ ले विज्ञप्ति जारी गरेर आफू विप्लवको अभियानमा लागेको बताएका हुन् ।
जनयुद्धलाई एउटा उचाइमा पुर्याउन शान्ति प्रक्रियामा आएको भए पनि पार्टी नेतृत्वले धोका र गद्दारी गरेको आरोप उनको छ ।
उनले एकीकृत माओवादीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामाको घोषणा समेत गरेका छन् । खनाल एमाओवादी चितवनका निर्वाचित जिल्ला सदस्य थिए ।
दोश्रो संविधानसभा निर्वाचनअघि नेकपा–माओवादीमै रहेका खनाल उक्त पार्टीले बहिस्कारका नाममा काँग्रेस–एमालेलाई सघाएको भन्दै प्रचण्डको हातबाट टीका लगाएर एमाओवादीमै फर्किएका थिए ।
राजनीतिबाट विस्तृष्ण भएपछि उनी पछिल्लो समय चितवनको पिठुवा–१ हात्तीगाडेस्थित घरमा व्यवसायिक गाई पालन गर्दै आएका थिए ।
‘आज नेपालमा क्रान्तिकारी आन्दोलनको नयाँ सम्भावना र पहल सुरु भएकामा म अत्यन्त हर्षित छु’, खनालले विज्ञप्तिमा भनेका छन्, ‘त्यस प्रकारको धारलाई सहयोग र समर्थन गर्नु म आफ्नो कर्तव्य ठान्छु ।’
तत्कालिन शाही नेपाली सेनाले पक्राउ गरेर गजुरीस्थित सैनिक व्यारेकमा राखेका बेला उनीसहित देवी ढकाल, कृष्ण पन्त र पत्रकार राजु क्षेत्रीसहित ६ जनाले ३० कात्तिक ०२६१ भाइटीकाका दिन ड्युटीमा खटिएका सैनिकलाई नियन्त्रणमा लिएर तीन थान हतियारसहित भागेका थिए ।
उक्त घटनाको अन्तर्राष्ट्रिय स्तरमै प्रचार भएको थियो ।