
काठमाण्डु, १२ मंसिर– १८ औं सार्क शिखर सम्मेलनका कारण तीन दिनयता स्थगित नेकपा–माओवादीको केन्द्रीय समिति बैठक आज पुन: बस्दैछ ।
ललितपुरको कुपण्डोलस्थित जनवर्गीय संगठनको कार्यालयमा मध्याह्नपछि बस्ने बैठकले केही महत्वपूर्ण सांगठनिक निर्णय लिने सम्भावना रहेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
श्रोतका अनुसार सम्बन्ध विच्छेदको जानकारी गराएर हिंडेका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’, पोलिट्ब्युरो सदस्य खड्गबहादुृर विक, धर्मेन्द्र बास्तोला, अनिल शर्मा ‘विरही’ ओम पुन, झकबहादुर मल्ललगातका नेतामाथि आजैको बैठकले कारबाही गर्ने सम्भावना छ ।
स्रोतका अनुसार सम्बन्ध विच्छेदका लागि भन्दै विप्लवले बुझाएको पत्र स्वीकार गर्ने मनस्थितिमा वैद्य पुगिसकेका छन् ।
‘विप्लव’ पक्षले सम्बन्ध विच्छेदको पत्र बुझाएर केन्द्रीय समिति बैठक बहिस्कार गरेपछि माओवादी विभाजनको अन्तिम संघारमा पुगेको छ ।
आइतबार केन्द्रीय समितिको विस्तारित बैठकमा अध्यक्ष मोहन वैद्यले राजनीतिक प्रतिवेदन पेश गर्दैै पार्टी नीति, अनुशासन र पद्दतिविपरीत गुटगत गतिविधि नरोके पार्टी छाड्न चन्द पक्षलाई चुनौती दिएका दिए ।
त्यसको एक दिनपछि ‘सँगै बस्न सकिएन’ भन्दै चन्द र विकले दलबलसहित कुपण्डोल पुगेर वैद्य र महासचिव राबहादुर थापालाई सम्बन्ध बिच्छेदको पत्र थमाएका थिए ।
वैद्य पक्षले अन्तिमपटक भन्दै पार्टीमा फर्कन गरेको आग्रह चन्द पक्षले अस्वीकार गरिसकेका कारण माओवादी फुट्ने पक्काजस्तै छ ।
आजको बैठकले चन्द समूहमा लागेपछि खाली रहेका राज्य र जिल्ला समितिमा नयाँ प्रमुख तोक्नेछ ।
बैठकदे अध्यक्ष वैद्यले पेश गरेको राजनीतिक प्रस्ताव भने यसअघि नै सर्वसम्मतिका आधारमा पारित गरिसकेको छ । बैठक आजै सकिने प्रवक्ता भुसालले बताइन् ।