झापा, १२ मंसिर– जिल्ला ट्राफिक प्रहरी कार्यलय झापाले दुई महिनामा १ सय ४६ जानको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) मा प्वाल पारेको छ ।
मादकपदार्थ सेवन गरी सवारी चलाउने क्रम नरोकिएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गर्नेलाई निरुत्साहित गर्न सुरु गरेको अभियानका क्रममा १ सय ४६ वटा सवारी चालक अनुमतिपत्रमा प्वाल पारेको कार्यलयले जनाएको छ ।
प्रहरी प्रधान कार्यलय ट्राफिक निर्देशनालयको निर्देशनमा ट्राफिक प्रहरीले मादकपदार्थ सेवन गरी सवारी चलाउने चालकको चालक अनुमतिपत्रमा प्वाल पार्ने अभियान गत असोज २६ गतेबाट सुरु गरेको थियो ।
जसअन्तर्गत पूर्व–पश्चिम राजमार्गको विभिन्न स्थानमा ट्राफिक प्रहरीले छड्के जाँच गर्दै ब्रेथलाइजर मेसिनको माध्यमबाट चालकले मादकपदार्थ सेवन गरे/नगरेको जाँच गर्दै आएको र मादकपदार्थ सेवन गरेको पाइए लाइसेन्समा प्वाल पार्ने तथा १ हजार रुपैयाँ जरिवाना लिने गरेको प्रहरी नायब निरीक्षक सुनिल श्रेष्ठले बताए ।
मादकपदार्थ सेवन गरी ७ पटकसम्म सवारी चलाएको पाइए ७ पटक नै लाइसेन्समा प्वाल पार्ने र उक्त लाइसेन्स स्वत: रद्द हुने जानकारी पनि उनले दिए ।