फलफूल बेचेरै जसले ४० लाख कमाए…

काठमाण्डु टुडे २०७१ मंसिर ११ गते १२:४५ मा प्रकाशित

जुम्ला, ११ मंसिर– जुम्लाको गैरागाउँका किसान शंकु खत्रीले फलफूलबाटै यस वर्ष ४० लाख रुपैयाँ आम्दानी गरेका छन् । जुम्लामा स्याउ तथा अन्य फलफूलखेतीको प्रशस्त सम्भावना देखेर २०३८ सालबाट यो पेसामा लागेका उनले विगतका वर्षमा त्यति राम्रो आम्दानी लिन नसके पनि यो वर्ष उनले ४० लाख रुपैया आम्दानी गर्न सफल भएका छन् ।

appl
जुम्लाको १४ औं जिल्ला परिषद्बाट जैविक जिल्लाको घोषणा गरिए पनि रसायनिक विषादी ब्युटाकलरदेखि अन्य औषधि किसानले प्रयोग गर्दै आएका छन् ।

यो वर्ष मात्र खत्रीले जैविक स्याउबाट १४ लाख, स्याउको चानाबाट ९ लाख, हिमाली जिराबाट १ लाख, ओखरबाट ३ लाख, हिमाली सुपबाट पौने १ लाख,  आरुबखडा र चुली गरी साढे ४ लाख, घोडाघोडी बेचेर ५ लाख र जीवातु बिक्रीबाट पनि १ लाख र अन्यबाट गरी ४० लाख आम्दानी गर्न सफल भएको बताएका छन् ।

उत्पादन गरेको रेड, रोयल डेलिसियस र गोल्डेन स्याउ जुम्लामै सिजनमा प्रतिकेजी ८० र अफसिजनमा १५० देखि ३०० सम्ममा जाने उनको भनाइ छ ।

जेठ असारसम्म स्याउलाई त्यही स्वादमा राख्न पनि स्याउ भण्डार निर्माण गरिएको छ । किसान खत्रीले जागिर गरेर भ्रष्टाचार गर्नुभन्दा आफ्नो छोरालाई पनि कृषिमा लाग्न सुझाएको र अन्य  किसानलाई पनि कृषि जस्तो स्वाभिमान र आत्मनिर्भर पेसा गर्न अपिल गरेका छन् ।  उनले आगामी वर्षहरूमा यही पेसाबाट  डेढ करोड आम्दानी गर्ने लक्ष्य राखेको बताएका छन्

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us