महोत्तरी, ११ मंसिर– सशस्त्र प्रहरीले बिहीबार महोत्तरीको मटिहानी गाविसबाट १० किलो चाँदीसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहार, मधुवनीका दिलीपकुमार साह र रोशनकुमार साह रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यलय महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक धीरेन्द्र पाण्डेले बताए ।
जनकपुरबाट चाँदी बोकेर भारततर्फ जाँदै गरेका उनीहरुलाई जाँचका क्रममा सशस्त्र प्रहरीले मटिहानी–८ स्थित महावीर मन्दिर नजिकैबाट पक्राउ गरेको हो ।
सीमा सुरक्षा कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरी चाँदीसहित दुई भारतीय पक्राउ परेको जानकारी गराएको हो ।
मटिहानीका सशस्त्र प्रहरी निरीक्षक कृष्ण पौडेलको नेतृत्वमा रहेको प्रहरी टोलीले सुराकीका आधारमा नाका खडा गरी जाँच गर्दा छ वटा प्लास्टिकको झोलाभित्र मसिनो दाना (बुयिना) आकारमा रहेको १० केजी चाँदी बरामद गरेको हो ।
अनुमानित सात लाख रुपैयाँको चाँदीसहित दुवै जनालाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यलय पथलैया पठाइएको प्रहरीले जनाएको छ ।