
काठमाण्डु, ११ मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले सार्कको १८ औं शिखर सम्मेलन समापन समारोहमा हात मिलाउँदा राष्ट्रिय सभागृहमा तालीको गडगडाहट सुनियो ।
दक्षिण एशियाका दुई शक्तिशाली मुलुकको वैरभावले सार्क सम्मेलनको महत्व नै ओझेलमा परेको विश्लेषण गरिएकै बेला यी दुई नेताले हँसिलो मुद्रामा हात मिलाएका थिए ।
अघिल्लो दिन काठमाण्डुमा भएको साइडलाइन वार्तामा पनि मोदी र सरिफले भेटेका थिएनन् ।
भारत स्वतन्त्रतासँगै जन्मिएको पाकिस्तान र भारतबीचको सम्बन्ध मित्रवत छैन । कश्मीरका सम्बन्धमा अहिले पनि यी दुई मुलुकबीच विवाद कायमै छ ।
६ महिनाअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रममा सबै दक्षिण एशियाली छिमेकीसँगै सरिफलाई पनि निमन्त्रणा गरेका थिए । दिल्लीमा यी दुई नेताबीच भेट भएको थियो ।
सार्क सम्मेलनमा साइडलाइन वार्ता हुने आशा गरिए पनि त्यसो हुन सकेन ।
मोदी र सरिफबीच हात मिलाइँदा मात्रै पनि सार्कका अन्य मुलुकका सहभागी उत्साही देखिए । यी दुई नेताले हात मिलाउँदा श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्ष लगायतले पनि ताली बजाएका थिए ।