सुजाताले घुमाइन् सार्क फस्ट लेडीहरुलाई भक्तपुर

काठमाण्डु टुडे २०७१ मंसिर ११ गते ८:१० मा प्रकाशित

भक्तपुर, ११ मंसिर– अठारौँ सार्क शिखर सम्मेलनमा भाग लिन आएका सार्क फस्ट लेडी र विदेशमन्त्रीका श्रीमतीहरुले आज विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरका प्रमुख सम्पदाहरुको अवलोकन गरेका छन् ।
Sujata-Koirala
भक्तपुर भ्रमणमा आउने फस्ट लेडीमा माल्दिभ्सकी फतिमा इब्राहम र पाकिस्तानकी बेगम साहिबा छन् । त्यस्तै बंगलादेशका विदेशमन्त्रीकी पत्नी साहिन अली र श्रीलंकालीे विदेशमन्त्रीकी पत्नी सावित्री नेहम पेरिस उक्त टोलीमा सम्मिलित थिए ।
दरबारस्क्वायरमा उनीहरुलाई नेपालकी फस्ट लेडी सुजाता कोइराला, प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकुर, स्थानीय विकास अधिकारी पशुपतिबाबु पुरी, नगरपालिकाका कार्यकारी अधिकृत राममणि भट्टराई लगायतले स्वागत गरेका थिए ।
बिहान १०ः५० बजे भक्तपुरको दरबारस्क्वायर आइपुगेका पाहुनाहरु १२ बजे फर्किएका थिए । स्वागतपछि उनीहरुलाई ५५ झ्याले दरबार, राष्ट्रिय कला सङ्ग्रहालयको अवलोकन गराइएको थियो ।

त्यसैगरी, उनीहरुले दरबारस्क्वायरको लामोपाटीमा भक्तपुर उद्योग वाणिज्य सङ्घले राखेको चर्खा, हाकुपटासी बुन्दै गरेको कपडा बनाउने तान, भक्तपुरका परम्परागत धातुकला, मूर्तिकला तथा हस्तकलाका सामग्रीको अवलोकन गरेका थिए
अवलोकनका क्रममा श्रीलङ्काको परराष्ट्रमन्त्रीको पत्नी पेरिसले ढाकाको सल, ऊनी टोपी र नेपाली हातेकागजबाट बनाइएको डायरी किनेका थिए । पाहुनालाई व्यापारीले आफूले उत्पादन गरेका सामग्री चिनोको रुपमा दिएका थिए ।

पाँचतले मन्दिरको अवलोकनपछि उनीहरुलाई तौमढी स्क्वायरमा प्रदर्शन गरिएको प्रसिद्ध देवी नाचको अवलोकन गराइएको थियो । तौमढी स्क्वायरको न्यातपोल क्याफेमा बसेर उनीहरुले चियापानसँगै देवी नाच हेरेका थिए ।

अवलोकनको क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पाकिस्तानका फस्ट लेडी साहिबाले नेपाल सम्पदाको धनी भएको बताउँदै यहाँका हस्तकलाका सामग्री आकर्षक रहेको प्रतिक्रिया दिइन् ।
नेपालको फस्ट लेडी कोइरालाले यहाँका हस्तकलाका सामग्री धेरै नै राम्रो लागेको प्रतिक्रिया दिँदै आजको भक्तपुर भ्रमण सबैका लागि उपलब्धिमूलक भएको बताइन् ।

फस्ट लेडीले भक्तपुर भ्रमण गर्ने भएपछि आज बिहानैदेखि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको थियो । सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us