
काठमाण्डु, ११ मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ सार्क सम्मेलका औपचारिक र देखिने मञ्चमा आपसमा बोलेनन्, हात पनि मिलाएनन् । तर घुमफिरका लागि धुलिखेल पुगेका यी दुई शक्तिशाली देशका समकक्षी सँगसँगै हिंडडुल गरेका छन् ।
नेपाल सरकारका तर्फबाट विशिष्ट पाहुनाहरुसँगै गएका अधिकारीहरुका अनुसार उनीहरुबीच सामूहिक बसाइमा कुराकानी पनि भएको छ । मोदी र सरिफले के कुरा गरे भन्ने सार्वजनिक भएको छैन । तर, एउटै समूहमा रहँदा उनीहरुबीच अनौपचारिक कुराकानी भएको नेपालको परराष्ट्र स्रोतलाई उधृत गर्दै सञ्चार माध्यमहरुले जनाएका छन् ।
मोदी र सरिफ सँगसँगै उभिएको फोटो भारतीय परराष्ट्रका अधिकारीहरुले ट्वीट पनि गरेका थिए । तर, धेरैतिरबाट चासोका साथ हेरिएका यी दुई नेताले आपसमा के कुरा गरे भन्ने चाहिं खुलेको छैन ।
मोदी आजै स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ ।