दुई करोड बढीको गाँजा नष्ट

काठमाण्डु टुडे २०७१ मंसिर ११ गते ५:०८ मा प्रकाशित

महोत्तरी, ११ मंसिर– प्रहरीले विगत एक महिनामा जिल्लामा अवैध रूपमा लगाइएको दुई करोडभन्दा बढी मूल्यको लागुऔषध गाँजा खेती नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यलयले चलाएको एकमहिने अभियानअन्तर्गत जिल्लाको विभिन्न गाउँमा लगाइएको सो मूल्य बराबरको गाँजा खेती नष्ट गरिएको जानकारी प्रहरी उपरीक्षक शौरभ राणाले दिए । gaja-kheti

 

महोत्तरीलाई गाँजारहित जिल्ला बनाउने अभियानअन्तर्गत जिल्लाको कोल्हुवा वगेया, भटौलिया, हात्तिलेट, लक्ष्मीनिया, भरतपुर, बेलगाछीलगायतका गाउँमा दुई बिघाभन्दा बढी जग्गामा लगाइएको अवैध गाँजा खेती फँडानी गरिएको प्रहरी उपरीक्षक राणाले बताए ।

 

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठको नेतृत्वमा गएको प्रहरी टोलीले विभिन्न गाविसको वन तथा घरवरिपरि लगाइएको गाँजा खेती फँडानी गरी सोही स्थानमा जलाएर नष्ट पारेका छन् ।

 

पछिल्लो दिनमा जिल्लामा लागुऔषध गाँजाको कारोबार बढ्दै गएको र धेरैजसो भूभागमा गाँजा खेती हुन थालेपछि प्रहरीले कात्तिक दोस्रो सातादेखि विशेष अभियान चलाएर गाँजा खेती फँडानी गर्न थालेको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us