
काठमाण्डु, ११ कात्तिक– एमाओवादी नेता भट्टराई तरकारी खेतीमा लागेका छन् ।
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापतिसमेत रहेका बाबुरामले राजनीतिबाट वितृष्ण भएर वा व्यवसाय रुपमै खेतीपाती थालेका भने होइनन् ।
बाबुरामले ललितपुरको सानेपास्थित निवासको छतमा अर्गानिक तरकारी फलाएका छन् ।
के–के छन् तरकारी ?
बाबुराम निवासको छत अहिले लसुन, प्याज, तोरी र रायो साग, धनियाँ, गोलभेंडा र मटरकोसाले हरियै भएको छ । दुई महिनाअघि रोकिएको साग बाबुरामको भान्सामा पाक्न थालेको दुई साता भयो ।
बाबुरामका सहयोगी सन्दीप क्षेत्रीका अनुसार ८० वटा गमला र ७० वटा प्लाष्टिकको क्रेटमा तरकारी रोपिएको छ । उनले तरकारी रोप्न भक्तपुरको एक अर्गानिक कृषि फर्मबाट माटो किनेर ल्याइएको बताए ।
बाबुराम आफैं गर्छन् काम
क्षेत्रीले तरकारी रोप्ने बेलामा बाबुराम आफैंले समेत काम गरेको बताए ।
‘दुई–तीन दिन लगाएर रोपियो’, क्षेत्रीले काठमाण्डु टुडेसँग भने, ‘बाबुरामसर आफैंले पनि काम गर्नुभएको थियो ।’ संविधान निर्माण र अरु राजनीतिक व्यवस्तताका बीचमा पनि समय बिलाएर बाबुरामले दिनमा बिहान वा बेलुका एकपटक छतमा उक्लेर तरकारीको रेखदेख गर्ने गरेका छन् ।
क्षेत्रीले तरकारी सप्रिएको देखेर बाबुराम मुस्कुराउने गरेको बताए । बाबुरामले ट्वीटमा भनेका छन्, ‘सानेपा निवासको छतमा अर्गानिक तरकारी खेती, सबैले यसो गरे कसो होला ?’
स्वास्थ्यप्रति सचेत
नेपालका राजनीतिक दलका नेता सबै आन्दोलनबाट आएका हुन् । काँग्रेस, एमाले वा एकीकृत माओवादीका नेता सबैले एक समय धेरै दुःख कष्ट उठाए । अधिकांश नेता भूमिगत थिए ।
त्यसमा धेरैले पटकपटक जेल जीवन पनि भोगेका छन् । अधिकांश नेतामा समयमा खाना नखाने, पानी नपिउने, अनिदो बस्ने, आराम नपुग्ने, नियमित व्यायाम तथा स्वास्थ्य परीक्षण नगर्ने प्रवृत्ति छ ।
त्यसको परिणामस्वरुप अधिकांश नेता कुनै न कुनै जटिल रोगको शिकार भएका छन् । तर बाबुराम स्वास्थ्यप्रति बढी नै सचेत छन् ।
उनी थोरै खान्छन् तर सकेसम्म लामो समय भोको बस्दैनन् । सुत्ने, उठ्ने, पढ्ने र आराम गर्ने उनको रुटिङ प्रायः मिलेको हुन्छ । स्वास्थ्यप्रति सचेत भएरै बाबुरामले अर्गानिक तरकारी खेती गरेको क्षेत्रीले बताए । क्षेत्रीका अनुसार बाबुरामको भान्छामा सागको तरकारी प्रायः टुट्दैन ।
सागपछि उनले मनपराउने तरकारी मटरकोसा हो । ‘बाबुरामसर स्वास्थ्यको एकदमै ख्याल गर्नुहुन्छ, आफ्नो स्वास्थ्यको ख्याल नगर्ने मान्छेले जीवनमा केही पनि गर्न सक्दैन भन्नुहुन्छ’, क्षेत्रीले भने, ‘उहाँका सबैकुरा रुटिङमा हुन्छन् ।’