‘रिट्रिट’का लागि सार्क पाहुनाको धुलिखेलमा जमघट

काठमाण्डु टुडे २०७१ मंसिर ११ गते ४:११ मा प्रकाशित

धुलिखेल, ११ मंसिर– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ‘साक’को १८औं शिखर सम्मेलनमा सहभागी सदस्य देशका राष्ट्राध्यक्ष/सरकार प्रमुख ‘रिट्रिट’का लागि आज बिहान सोल्टी होटेलबाट पर्यटकीय नगर काभ्रेको धुलिखेलआइपुगेका छन् । 18th SAARC Summit Kicks Off

 

राजधानी काठमाण्डुबाट ३० किलोमिटर पूर्व काभ्रेको धुलिखेल नगरपालिका–१ स्थित भट्टेडाँडामा रहेको द्वारिकाज होटेलमा विशिष्ट पाहुनाहरु रिट्रिटमा सहभागी हुँदैछन् ।

 

सार्कको १८औं शिखर सम्मेलनमा उपत्यकाबाहिर पहिलोपल्ट रिट्रिटको व्यवस्था गरिएको हो । रिट्रिटस्थलमा प्रधानमन्त्री सुशील कोइराला बिहान ९:१५ बजे आइपुगेका थिए ।

सार्कका राष्ट्रप्रमुखहरु अफगानिस्तानका असरफ घानी, माल्दिभ्सका अब्दुल्ला यामिन अब्दुल गैयुम, श्रीलंकाका महिन्दा राजपाक्ष र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे रिट्रिटमा सहभागी हुनुहुन्छ ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद भने हालसम्म रिट्रिटस्थल आइपुगेकी छैनन् ।

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नै हेलिकोप्टरबाट आएका छन् भने अन्य प्रमुखहरु भने नेपाली सेनाको हेलिकोप्टरमार्फत आएका हुन् ।

 

रिट्रिटलाई सार्कको एउटा नियमित प्रक्रिया र आकर्षणका रुपमा लिइन्छ । सार्कको औपचारिक मञ्चमा द्विपक्षीय मुद्दा उठाउन नमिल्ने परम्परा रहेको कारण पनि रिट्रिटले बढी चर्चा पाउने गर्छ ।

 

रिट्रिटका समयमा सहभागी राष्ट्र/सरकार प्रमुखबीच खुलेर एकआपसमा भलाकुसारी गर्दै आपसी हितमा मात्र सीमित नरही द्विपक्षीय समस्याका गाँठो फुकाउने अवसर पनि मिल्छ । दुई दिने शिखर सम्मेलनमा व्यस्त कार्यतालिकाको चापलाई पन्छाएर केही समय विश्रामका लागि फुर्सद निकाल्ने चलन रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us