पाल्पा, ११ मंसिर– जापानिज संस्थाको आर्थिक सहयोगमा पाल्पा जिल्लाको रामपुर नगरपालिका–१० आदर्शनगरस्थित आधारभूत माध्यमिक विद्यालयमा एककोठे भवन निर्माण भएको छ ।
जापानिज संस्था आशाको दुई लाख रुपैयाँ सहयोग, विद्यालयको आन्तरिक स्रोत र श्रमदान गरी तीन लाख सात हजारमा भवन निर्माण भएको विद्यालयका प्रधानाध्यापक रुपनाथ गौतमले बताए ।
संस्थाका अध्यक्ष इनुओ साकुकुले सो भवनको उद्घाटन गरेका हुन् । सोही अवसरमा जापानिज समाजसेवी काजुमासा काकिमी ओके बाजेले विद्यालयमा अध्ययनरत २० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्दप्रसाद पोखरेलले प्रमुख अतिथि इनुओ साकुकु, ओके बाजेलगायतलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरे । रासस