
कञ्चनपुर, ११ मंसिर– पाँच महिनादेखि कञ्चनपुरका स्वास्थ्य चौकीमा अत्यावश्यक औषधिको आपूर्ति हुन सकेको छैन । दमका बिरामीका लागि प्रयोग हुने ‘साल्भुटामोल’, छालासम्बन्धी रोगका लागि प्रयोग हुने ‘ह्वाइटफिल्ट वइन्टपेन्ट’ र पेट दुखाइ कम गर्ने ‘हाइवसिन वुटाइल ब्रोकाइट’ औषधिको अभाव भएको हो ।
स्वास्थ्य चौकीलाई उपलब्ध हुने ३५ प्रकारका औषधिमध्ये यी औषधि स्वास्थ्य चौकीमा पाँच महिनादेखि आपूर्ति नहुँदा बिरामी मार्कामा परेका छन् । जनस्वास्थ्य कार्यालयले अत्यावश्यक औषधिको आपूर्ति नगर्दा बिरामीलाई बाहिरका निजी स्वास्थ्य चौकीबाट औषधि खरिद गरी प्रयोग गर्नका लागि पठाइने गरिएको स्वास्थ्यकर्मी रतनबहादुर विष्टले बताए ।
‘दैनिक स्वास्थ्य चौकी पुग्ने दम, छाला र पेट दुखाइका बिरामीलाई औषधि नहँुदा बाहिर खरिदका लागि पठाउन बाध्य छौं’, विष्टले भने । जनस्वास्थ्य कार्यालयलाई औषधि आपूर्तिका लागि माग गरिँदै आए पनि हालसम्म औषधि आपूर्ति हुन नसकेको स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको भनाइ छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य प्रशासक बलबहादुर महतले चालु आर्थिक वर्षका बजेटको अख्तियारी पुग्न नसक्दा औषधिको आपूर्ति गर्न नसकिएको बताए । स्वास्थ्य चौकीलाई जिल्ला र क्षेत्रबाट प्राप्त हुने बजेटबाट औषधि आपूर्ति गर्दै आए पनि त्यसले स्वास्थ्य चौकीको मागलाई पूर्ति गर्न नसकेको उनले जानकारी दिए ।
‘केन्द्रबाट बजेटको अख्तियारी पुगे औषधि खरिदका लागि बोलपत्र आह्वान गर्न एक महिनाको समय लाग्ने र औषधि खरिद गरेर आपूर्ति गर्न दुई महिनाको समय लाग्ने हुन्छ’, उनले भने ।