
काठमाण्डु, १० मंसिर– दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कका अध्यक्ष एवम् प्रधानमन्त्री सुशील कोइरालाले सदस्य मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखको सम्मानमा आज साँझ यहाँ रात्रिभोजको आयोजना गरे ।
त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री कोइरालाले सार्र्क प्रक्रियालाई सुदृढ तुल्याउँदै त्यसलाई क्षेत्रीय एकता र सहयोगको साझा मञ्चका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
आर्थिक विकास एवम् समुन्नत दक्षिण एसिया निर्माणलाई नेपालले उच्च प्राथमिकता दिएको बताउँदै उनले क्षेत्रीय एकता, ऐक्यबद्धता र पारस्परिकमैत्री प्रगाढ तुल्याउन सार्क अझ सशक्त एवम् क्रियाशील हुनेमा आफू विश्वस्त रहेको बताए ।
उनले परिणाममुखी सार्क दक्षिण एसियाका जनताको चाहना भएकाले स्थापनाकालमा सार्कले निर्धारण गरेका शान्ति, विकास र पारस्परिक एकताको भावना अभिवृद्धि गर्न सदस्य मुलुकबीच गाढामैत्री र एकता अपरिहार्य भएको विचार व्यक्त गरे ।
राजकीयस्तरको रात्रिभोजमा अफगानिस्तानका राष्ट्रपति डा मोहम्मद असरफ घानी, मालदिभ्सका राष्ट्रपति अब्दुल्ल यामिन र श्रीलङ्काका राष्ट्रपति महिन्दा राजपाक्ष सहभागी दिए । रात्रिभोजमा बङ्गलादेश, भुटान, भारत र पाकिस्तानका प्रधानमन्त्री क्रमशः शेख हसिना, ल्योन्छेन छिरिङ तोब्गे, नरेन्द्र मोदी र नवाज सरिफका साथै प्रथम महिलाहरू सरिक हुनुभयो ।
रात्रिभोजमा अफगानिस्तानका कामु परराष्ट्रमन्त्री जरार अहमद ओसमानी, बङ्गलादेशका विदेशमन्त्री अब्दुल हसन महमुद अली, भुटानका विदेशमन्त्री ल्योन्पो रिन्जिन दोर्जी, भारतका विदेश मन्त्री सुषमा स्वराज, मालदिभ्सका विदेशमन्त्री दुन्या मौमुन, पाकिस्तानका प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा तथा विदेश मामिला सल्लाहकार सरताज अजिज र श्रीलङ्काका बाह्य मामिलामन्त्री प्रा गामिनी लक्ष्मण पेइरिस, सार्क स्थायी समितिमा सहभागी सदस्य मुलुकका प्रतिनिधिमण्डलका नेताको पनि त्यस अवसरमा उपस्थिति रहेको थियो ।
सविधानसभा अध्यक्ष सुवास नेम्वाङ, पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, डा.बाबुराम भट्टराई, सुर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंह, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, मन्त्रीहरु, सार्कका महासचिव अर्जुनबहादुर थापा, नेपाल सरकारका सचिव, प्रमुख राजनीतिक दलका नेताहरुलगायत विशिष्ट पदाधिकारीहरुको रात्रिभोजमा सहभागिता थियो ।