मोदी हिंड्ने बाटोमा जुलुस निकाल्न खोजेपछि सीके राउत फेरि पक्राउ

काठमाण्डु टुडे २०७१ मंसिर १० गते १४:४६ मा प्रकाशित

ck rautकाठमाण्डु, १० मंसिर– मधेसलाई नेपालबाट अलग गराउने अभियानमा लागेका डा. सीके राउत फेरि पक्राउ परेका छन् ।

देश टुक्र्याउन खोजेको आरोपमा पक्राउ गत साउन २८ मा मोरङको रंगेलीबाट पक्राउ परेका राउत ५० हजार रुपैयाँ धरौटी बुझाएर सोमबार मात्र सदरखोर कारागार डिल्लीबजारबाट छुटेका थिए ।

उनले सार्कका अतिविशिष्ट पाहुनाको सवारी हुने समयमा काठमाण्डुको रत्नपार्कमा कार्यकर्ता जम्मा पारेर विरोध प्रदर्शन र भाषण गर्न खोजेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीसँगै करिब तीन दर्जन युवालाई समेत पक्राउ गरिएको महानगरीय प्रहरी परिसर हनुमानढोकाले जनाएको छ ।

अतिविशिष्टको सवारीका बेला हुलहुज्जतका साथ सडकमा आएकाले उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रवक्ता दिनेश आचार्यले बताए ।

उनलाई केही समय राखेर छाडिएको उनले जनाए । सोल्टीमोडदेखि  सार्क सम्मेलनस्थल राष्ट्रिय सभागृहसम्म भीभीआईपी सवारी हुदाँ सर्वसाधारणलाई पैदल हिँड्नसमेत रोक लगाएको भए पनि सीकेले केही मधेसी युवाहरुलाई लिएर जुलुस निकाल्न खोजेका थिए ।

स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित सार्क मुलुकका राष्ट्र प्रमुखलाई आफूहरुको मागबारे ध्यानाकर्षण गराउनभ भन्दै जुलुस निकाल्न खोजेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us