भैंसीले बाली खाएको भन्दै छिमेकीमाथि खुकुरी प्रहार

काठमाण्डु टुडे २०७१ मंसिर १० गते १०:२७ मा प्रकाशित

खोटाङ, १० मंसिर– भैंसीले बाली खाएको निहुँमा छिमेकीलाई खुकुरी प्रहार गर्ने खोटाङकी एक महिला पक्राउ परेकी छन् । दोर्पा चिउरीडाँडा–२ की १६ वर्षीया यशोदा चौलागाईंलाई खुकुरी प्रहारbhaisi गर्ने सोही स्थानकी ५० वर्षीया विष्णुकुमारी राई पक्राउ परेकी हुन् ।

भैंसीले बाली खाएको निहुँमा विवाद भएपछि राईले चौलागाईंमाथि मंगलबार साँझ खुकुरी प्रहार गरेको स्थानीयवासीले बताएका छन् । घटनालगत्तै उनलाई प्रहरी चौकी दोर्पा चिउरीडाँडाले नियन्त्रणमा लिएको थियो । राईविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विनोदराज खरेलले बताए ।

घाइते चौलागाईंको जिल्ला अस्पताल खोटाङमा उपचार हुन नसकेपछि काठमाडौं लैजाने तयारी भइरहेको आफन्तले जनाएको छ । घाइते चौलागाईंको टाउकोमा गहिरो चोट लागेको घाइतेकी काका हरि चौलागाईंले जानकारी दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us