मोदीले किन सम्झे काठमाण्डुमा मुम्बई हमला ?

काठमाण्डु टुडे २०७१ मंसिर १० गते १०:३८ मा प्रकाशित

काठमाण्डु, १० मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क शिखर सम्मेलनको उद्घाटन सत्रमा मुम्बईमा सन् २००८ मा भएको घटनाको सम्झना गरे र भने– ‘मुम्बई आक्रमण हाम्रा लागि असीम पीडा हो ।’

PRO-KTM-India-prime-minister-welcome3
सार्क शिखर सम्मेलन भारतमा भएको कुनै घटनाको स्मृति सभा थिएन । यो दक्षिण एशियाली मुलुकहरुको सहयोग संगठन थियो । तर, यस्तो संगठनको तीन–तीन वर्षमा हुने ऐतिहासिक सम्मेलनमा पनि मोदीले किन मुम्बई घटना सम्झे त ?

यसका तीन कारण हुन सक्छन् । एक, मुम्बई घटना भएको आजैका दिन थियो । आजै अर्थात् ६ वर्षअघि नोभेम्बर २६ तारिखमा । जुन दिन मोदी काठमाण्डुमा छन् । यसलाई अवसर वा बहाना पनि भन्न सकिन्छ ।

दुई, भारत सरकारले मुम्बई घटनाको दोष पाकिस्तानलाई दिइरहेको छ । पाकिस्तानी ‘आतंकवादी’हरुले मुम्बई हमला गरेको भारतको आरोप छ । सार्क सम्मेलनमा पाकिस्तानी प्रधानमन्त्री पनि सहभागी छन्, जसलाई मोदीले कुटनीतिक उपेक्षा गरिरहेका छन् । उनी मुम्बई घटना सम्झाएर पाकिस्तानी प्रधानमन्त्रीलाई बेवास्ता गरेको देखाउन चाहन्छन् ।

तीन, दक्षिण एशियामा जति पनि समस्या छन्, त्यसमा भारतकै समस्या मुख्य हो र हुनुपर्छ भन्ने पनि मोदीको आशय हुन सक्छ । उनले सार्क सम्मेलनमा साझा मुद्दा कम र भारतसँग सम्बन्धित विषयलाई बढी जोड दिएका थिए । आफ्नो अलिखित मन्तव्यमा उनले भारतले बाँकी मुलुकहरुका लागि के–के सुविधा दिन सक्छ भन्ने कुराको चर्चा गरेका थिए । मुम्बई घटनाको सम्झना पनि भारत–प्रधानताकै एक कडीका रुपमा देखिन्छ ।

के हो त मुम्बई घटना ?
सन् २००८ नोभेम्बर २६ अर्थात् आजैका दिन मुम्बई आक्रमण भएको थियो । उक्त घटना २६ गतेदेखि चार दिनसम्म शृंखलाबद्ध आक्रमण भएको थियो । यस घटनामा १६४ जना मारिएका थिए भने तीन सयभन्दा बढी व्यक्ति घाइते भएका थिए ।

359_30_2008-it-year-in-pictures-terrorist-attacks-in-mumbai-jpg1
मुम्बई आक्रमणमा पाकिस्तानी जासुसी संस्थाको संलग्नता रहेको समेत समाचारहरुमा बताइएको थियो । तर, पाकिस्तानको जासुसी संस्था आइएसआइले त्यसलाई अस्वीकार गरेको छ । भारतले भने भारतभित्रका आतंकवादी आक्रमणमा पाकिस्तानलाई ‘दोष’ दिंदै आएको छ ।

मोदीको मुम्बई सम्झना पनि पाकिस्तानसँगको त्यही वैरभावको अभिव्यक्ति हुन सक्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us