
काठमाण्डु, १० मंसिर– एकीकृत माओवादीभित्र भारतीय प्रधानमन्त्री नदरेन्द्र मोदीको अभिव्यक्तिलाई लिएर तीव्र मतभेद देखिएको छ ।
सहमतिमै संविधान जारी गर्न नेपालको राजनीतिक नेतृत्वलाई मोदीले दिएको सुझावलाई कसरी बुझ्ने भन्नेमा नेताहरुबीच मत बाझिएको हो ।
एकथरिले मोदीको भनाइमा हस्तक्षेपको गन्ध देखेका छन् भने अर्काथरि छिमेकीले दिएको राम्रो सुझावलाई सकारात्मक रुपमा लिनुपर्ने बताउँछन् ।
दक्षिण एसियाली सहयोग संगठन ‘सार्क’ को १८ औं सम्मेलनमा सहभागी हुन नेपाल आएका मोदीले भारतीय लगानीमा वीर अस्पताल हातामा निर्मित ट्रमा सेन्टरको उदघाटनका क्रममा बुधबार संख्याको बलमा नभई सहमतिमै संविधान बनाउन सुझाव दिएका थिए ।
एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ मोदीले झट्ट सुन्दा आफूहरुले भन्दै आएकै विषय उठाएजस्तो देखिए पनि अन्तर्यमा हस्तक्षेपको गन्ध रहेको बताए ।
‘हामीले पनि सहमतिमै संविधान बन्नुपर्छ भन्दै आएका छौं, झट्ट सुन्दा कुरा राम्रै लाग्छ’, श्रेष्ठले भने, ‘तर मोदीको अभिव्यक्तिको अन्तरकुन्तरमा हस्तक्षेपको गन्ध आउँछ ।’
श्रेष्ठले विदेशी हस्तक्षेप आफू अनुकुल हुँदा स्वागत गर्ने र प्रतिकुल हुँदा विरोध गर्ने शैली ठीक नभएको भन्दै असन्तुष्टि जनाए । नेपालमा संविधान कस्तो बनाउने र कहिले बनाउने भन्ने नेपालका राजनीतिक दलहरुको निर्णयमा भर पर्ने भए पनि मोदीले उपदेशको शैलीमा सहमतिको कुरा गरेकाले त्यसलाई कदापी राम्रो मान्न नसकिने उनको भनाइ छ ।
‘विदेशी हस्तक्षेप आफ्नो पक्षमा हुँदा वा विपक्षमा हुँदा हस्तक्षेप नै हुन्छ, आफ्नो फाइदा हुने भएपछि हस्तक्षेपलाई पनि सुझाव भन्न मिल्दैन, ’, श्रेष्ठले भने, ‘संविधान बनाउने हाम्रो आन्तरिक मामला हो, निर्णय हामीले गर्ने हो, कसैको अर्ती उपदेश जरुरी छैन ।’
सार्क सम्मेलन र सार्कका समस्याका बारेमा एक शब्द पनि नबोली मोदीले नेपालको आन्तरिक मामलामा मात्र बोलेकाले आफूलाई शंका लागेको उनले बताए । आफूहरुसँगको भेटमा पनि सार्कबारे एक शब्द नबोलेको तर आन्तरिक राजनीतिमा बढी चासो राखेको टिप्पणी गरे ।
तर महासचिव कृष्णबहादुर महरा मोदीको अभिव्यक्तिलाई हस्तक्षेप मान्ने पक्षमा छैनन् । मोदीले सहमतिमै संविधान जारी गर्न दिएको सुझावलाई सदासयताका रुपमा बुझ्नुपर्ने महराको भनाइ छ ।
मोदीले भनाइले सहमतिमै संविधान बन्नुपर्छ भन्ने पक्षमा रहेका दलहरुलाई उत्साहित बनाउनु स्वभाविक भएको तर्क उनले गरे ।
‘उनी भित्र के चान्छन् हामीलाई थाहा हुने कुरा भएन’, महराले काठमाण्डु टुडेसँग भने, ‘निर्णय हामीले नै गर्ने हो, तर सहमतिमै होस् भनेर छिमेकीले सदासयतापूर्वक दिएको सुझावलाई हस्तक्षेप होइन सुझावकै रुपमा लिनुपर्छ ।’
उनले नजिकको छिमेकीले दिएको राम्रो सुझावका बारेमा शीर्ष नेतृत्वतहबाटै अनावश्यक टिकाटिप्पणी हुनु राम्रो नभएको उल्लेख गरे । उनको संकेत उपाध्यक्ष श्रेष्ठप्रतिलक्षित थियो ।