सार्कको विकासका लागि सामूहिकरुपमा लाग्न पर्यवेक्षकको सुझाव

काठमाण्डु टुडे २०७१ मंसिर १० गते ६:१९ मा प्रकाशित

काठमाण्डु, १० मंसिर– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १८ औं शिखर सम्मेलनमा सहभागी पर्यवेक्षकहरुले सार्कको विकासका लागि सामूहिक रुपमा लाग्न सबै सार्क सदस्यराष्ट्रलाई सुझाव दिएका छन् ।

काठमाण्डुमा सुरु भएको सो शिखर सम्मेलनमा पर्यवेक्षक राष्ट्रकारुपमा सम्बोधन गर्दै प्रतिनिधिहरुले हाल सार्क क्षेत्रमा विद्यमान आतंकवाद, गरिबीलगायतका समस्याको समाधानका लागि पनि सुझाव दिए ।

सार्कको पर्यवेक्षकका रुपमा बोल्दै अस्ट्रेलियाका ब्रेट म्यासनले दक्षिण एसिया धेरै सम्भावनाको खानी भएकाले यसलाई अर्थपूर्ण रुपमा उपयोगमा ल्याउन सबै राष्ट्रको सामूहिक प्रयासको खाँचो रहेको बताए । उनले सार्क देशहरुमा अस्ट्रेलियाले गरेको लगानी तथा सहयोगका बारेमा जानकारी दिँदै शिक्षा क्षेत्रमा दीर्घकालीन लगानी गर्न दक्षिण एसियाली नेतालाई आग्रह पनि गरे ।

त्यसैगरी चीनको पर्यवेक्षण समूहका प्रमुख लिउ जेनमिनले चीनले यस संगठन तथा यस क्षेत्रका देशहरुमा कृषि, विपद् व्यवस्थापन, आर्थिक विकास, विज्ञान प्रविधि एवं प्रविधिको क्षेत्रमा विकास सहयोग गर्दै आएको जानकारी दिए । उनले चीनले आगामी दिनमा व्यापार र लगानीमा वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्दै दक्षिण एसियाली देशहरुसँग चीनको आपसी सम्बन्ध सुमधुर रहेको बताए । चीनले दक्षिण एसिया शान्ति मञ्चका माध्यमबाट यस क्षेत्रमा शान्ति स्थापना र अन्य आर्थिक साझेदारीका कामहरु गर्न चाहेको पनि बताए ।

इरानका अब्बास अखाउन्डीले दक्षिण एसिया निकै ठूलो युवा जनशक्ति भएको क्षेत्र भएकाले यो जनशक्तिको विकास गर्दै दक्षिण एसियाको सम्भावनालाई मध्य र पश्चिम एसियामा पनि जोड्न आग्रह गरे ।

जापानको पर्यवेक्षण समूहका प्रमुख एवं नेपालका लागि नेपाली राजदूत मासासी ओगावाले जापानले सार्क क्षेत्रलाई ऊर्जा, जनसम्पर्क, सुुशासन, प्रजातान्त्रीकरण, शान्ति स्थापनाजस्ता काममा सहयोग गर्दै आएको बताए । उनले जापानले आर्थिक विकासको सम्भावनाका क्षेत्रका बारेमा अध्ययन गर्ने भन्दै यस क्षेत्रमा रहेको ऊर्जाको उत्पादन र विस्तारको सम्भावनाको सदुपयोगका लागि आग्रह गरे ।

त्यस्तै दक्षिण कोरियाका क्याङ सु लिले दक्षिण एसियाली क्षेत्र दक्षिण कोरियाको एक प्रमुख व्यापारिक साझेदार हो भन्दै आगामी दिनमा पनि लगानीमा निरन्तरता दिइने बताए । उनले पछिल्लो समयमा कोरियाली कम्पनीले दक्षिण एसियाली क्षेत्रमा लगानी बढाइरहेको जानकारी दिँदै दक्षिण कोरियाको पूरै लगानीको कम्तीमा पनि २० प्रतिशत दक्षिण एसियामा नै रहेको बताए ।

त्यस्तै म्यान्मारका प्रतिनिधि यु तिन उ लिविनले पछिल्लो समयमा दक्षिण एसियाले शान्ति र आर्थिक विकासका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । उनले यस संगठनमार्फत दक्षिण एसियाली राष्ट्रले शान्ति र समृद्धिका लागि सामूहिक एकताका साथ अघि बढ्न पनि सुझाब दिए ।

त्यसैगरी संयुक्त राज्य अमेरिकाका निसा देसाई विश्वासले दक्षिण एसियाले पछिल्लो समयमा आर्थिक विकास, प्रजातान्त्रीकरण र शान्ति स्थापनाका क्षेत्रमा गरिरहेको प्रगतिले विश्वमा यसको महत्वको थप पुष्टि गरिरहेको धारणा राखे । यसका साथै उनले दक्षिण एसियाले आर्थिक मात्र नभई विभिन्न हिसाबले आफ्नो क्षेत्रलाई जोड्नुपर्नेमा जोड दिँदै यस क्षेत्रमा देखिएको अतिवाद र आतंकवादको नियन्त्रणका लागि पनि थप ऐक्यबद्धताको जरुरत रहेको सुझाब दिए ।

सो सम्मेलनमा युरोपेली संघका तर्फबाट आफ्नो धारणा राख्दै रेन्स्जे तेरिन्कले युरोपेली युनियनले यस वर्षदेखि सन् २०२० सम्मका लागि तीन अर्ब युरो दिने कार्यक्रम रहेको जानकारी पनि गराए । उनले यस क्षेत्रमा पूर्वाधारको विकाससँगै आर्थिक विकासका एजेन्डालाई प्राथमिकता दिन सडक यातायातको विकास र अन्तरदेशीय रुपमा भन्सार सुविधालाई थप सहज बनाउन सुझाव दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us