
रुकुम, १० मंसिर– सदरमुकाम खलंगा गाविस–९ सिस्नेखोला निवासी ५२ वर्षीय रामबहादुर खड्काको गाडीको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
गएराति खलंगा–९, राउखेत बजारमा गाडीले ठक्कर दिएपछि खड्काको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक होमबहादुर थापाले जानकारी दिए ।
रातिको समयमा भएकाले ठक्कर दिने गाडीबारे केही नखुलेको थापाले बताए । गाडीको ठक्करबाट खड्काको टाउकामा गहिरो चोट लागेको थियो । मृत अवस्थमा खड्कालाई सडकमा लडेको देखेपछि स्थानीयले राति नै प्रहरीलाई खबर गरेका थिए ।
घटना थाहा पाएलगत्तै प्रहरी घटनास्थल पुगेको पनि अहिलेसम्म घटनास्थलबाट शव नउठाइएको थापाले बताए । रासस