काठमाण्डु, १० मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली सेनाको हेलिकोप्टर चढ्न अस्वीकार गरेका छन् ।
१८ औं सार्क शिखर सम्मेलनको बिहीबार धुलिखेलमा हुने रिट्रिटमा जान सरकारले नेपाली सेनाको सुपर पुमा हेलिकोप्टर व्यवस्था गरेको थियो ।
तर मोदीले आफू आउँदा दिल्लीबाटै ल्याएको विशेष विमानमार्फत धुलिखेल जाने बताएका छन् । मोदीसँगै भारतीय विदेशमन्त्री शुष्मा स्वँराज पनि सोही हेलिकोप्टरमा धुलिखेल जाने भएकी छन् ।
सार्क सदस्य मुलुकमा सहभागी अन्य सरकार तथा राष्ट्र प्रमुख भने सरकारले व्यवस्था मिलाएको हेलिकोप्टरमा जानेछन् । श्रोतका अनुसार आफूसँगै माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यमीन अव्दुल गयुमलाई सँगै हेलिकोप्टरमा चढाएर धुलिखेल लान खोजिएको भन्दै मोदी असन्तुष्ट बनेका हुन् ।
यसैबीच मोदी आफ्नै हेलिकोप्टरमा जाने भएपछि भारतीय वायु सेनाका दुई हेलिकोप्टरले धुलिखेलस्थित कार्यक्रम स्थलको रेकी गरेका छन् ।