मन्त्रिपरिषद्को प्रतिवेदन अनुमोदन गर्दै उद्घाटनसत्र समाप्त

काठमाण्डु टुडे २०७१ मंसिर १० गते ८:३३ मा प्रकाशित

काठमाण्डु, १० मंसिर– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ‘सार्क’को १८ औं शिखर बैठकले मन्त्रिपरिषद्को ३६ औं बैठकले पारित गरेको प्रतिवेदनलाई अनुमोदन गरेको छ । SAARCleaders_PTI_0_0_0

आज बिहान काठमाण्डुमा सुरु भएको शिखर सम्मेलनमा सदस्य राष्ट्रका परराष्ट्र/बाह्य मामिलामन्त्री सम्मिलित मन्त्रिपरिषद्ले पारित गरेको उक्त प्रतिवेदनलाई अनुमोदन गरिएको हो ।

शिखर सम्मेलनमा आयोजक राष्ट्र नेपालका प्रधानमन्त्री सुशील कोइराला सार्कको अध्यक्षमा निर्वाचित भएलगत्तै सदस्य राष्ट्रका प्रमुख र पर्यवेक्षकहरुको सम्बोधनपछि प्रधानमन्त्री कोइरालाले मन्त्रिपरिषद्को उक्त प्रतिवेदन अनुमोदनका लागि प्रस्ताव गरेका थिए ।

सार्क बडापत्रको प्रावधानअनुसार शिखर सम्मेलन सुरु हुनुअघि सदस्य राष्ट्रका विदेश सहसचिवस्तरीय कार्यक्रम समिति, सचिवस्तरीय स्थायी समिति र मन्त्रिस्तरीय मन्त्रिपरिषद्ले कार्यसूची पारित गरेपछि त्यसलाई राष्ट्राध्यक्ष/सरकारप्रमुखको शिखर सम्मेलनमा अनुमोदन गर्ने गरिन्छ ।

सो अवसरमा सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले अठारौं सार्क शिखर सम्मेलनको विशेष संस्मरणात्मक हुलाक टिकटमा प्रकाशनको प्रथम दिवसीय टाँचा लगाई सदस्य राष्ट्रका सबै राष्ट्राध्यक्ष/सरकार प्रमुखलाई प्रदान गरेका थिए ।

त्यसपछि प्रधानमन्त्री कोइरालाले शिखर सम्मेलनको पहिलो दिनको उद्घाटन सत्र समापन भएको घोषणा गरे । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us