
चितवन, १० मंसिर– चितवनको गीतानगर क्षेत्र आसपासमा महिना दिनदेखि आतंक मच्चाइरहेको चितुवालाई चितवन राष्ट्रिय निकुञ्जले अझै नियन्त्रणमा लिन सकेको छैन । दुई हप्ताअघि बस्तीमा पसेर आतंक मच्चाएको चितुवा फेरि अहिले देवनगरलगायत बस्तीमा पसेको निकुञ्जले जनाएको छ ।
बस्तीमा पसेको चितुवा नियन्त्रणका लागि निकुञ्जले तीन दिनदेखि प्राविधिक टोलीसहित चार वटा हात्ती परिचालन गरेको छ । तर, नियन्त्रणको प्रयास सफल हुन नसकेको निकुञ्जका प्रवक्ता तथा सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले जानकारी दिए ।
चितुवा रुखमा पनि चढ्ने गरेकाले नियन्त्रणमा लिन अप्ठेयारो परेकाले अब खोर थापेर नियन्त्रणमा लिनुपर्ने अवस्था आएको निकुञ्जले जनाएको छ ।
चितुवा नियन्त्रणका लागि खटिएको प्राविधिक टोलीमध्येका एक टीकाराम थारुलाई चितुवाले आक्रमण गरी घाइते बनाएको पौडेलले आज जानकारी दिए । उनको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । महिनादेखि चितुवाको आतंक फैलिँदा स्थानीय भने त्रसित भएका छन् ।
रासस