
काठमाण्डु, १० मंसिर– श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षले दक्षिण एसियाका जनताको समृद्धि र शान्तिपूर्ण दक्षिण एसिया निर्माणका लागि यस क्षेत्रका सरकार र जनताले सामूहिक रुपमा मिलेर काम गर्नुपर्ने बताएका छन् ।
आजदेखि सुरु भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ‘सार्क’ को १८औं शिखर सम्मेलनमा सम्बोधन गर्दै राष्ट्रपति राजापाक्षले दक्षिण एसियामा विद्यमान जलवायु परिवर्तन, प्राकृतिक सम्पदाको अधिकतम् उपयोग, श्रम आप्रवासन, आतकवादजस्ता प्रमुख विषयको सम्बोधनका लागि क्षेत्रीय प्रयासलाई दोब्बर बनाउनु पर्ने आवश्यकता औंल्याएका छन् ।
उनले भने, ‘दक्षिण एसियाका देशमा रहेका प्रचुर सम्पदा एवं ऐतिहासिक, सांस्कृतिक, धार्मिक महत्वका स्थानले यस क्षेत्रका जनताबीच गहिरो आत्मीयता कायम राखेको भए पनि ओहोरदोहोरमा समस्या खडा गरिएका कारण आमजनतालाई पीडा भइरहेको छ’ भन्दै उनले भने, ‘दक्षिण एसियामा करिब एक अर्ब ६० करोड मानिस बसोवास गर्दछन् तर ठूलो संख्याका जनता गरिबीको रेखामुनि बस्न विवश छन् । विभेद्को यो चरम अवस्थालाई सम्बोधन गर्न गहिरो आर्थिक सहकार्यका निमित्त यहााका सरकारले ठोस कार्य गर्न जरुरी भइसकेको छ ।’
सार्कलाई अझ सान्दर्भिक, अर्थपूर्ण मञ्चका रुपमा स्थापित गरी यस क्षेत्रका जनताको जीवनस्तर उकास्ने र उनीहरुको जीवनलाई सरल बनाउने कार्यमा हाम्रा प्रयत्नहरु बढी मात्रामा केन्द्रित हुनु जरुरी छ उनले भने, ‘हामीले अब बढी नतिजा–उन्मूख कार्यहरुमा ध्यान दिनु आवश्यक छ ।’
श्रीलंकाले सन् २००९ मा देशभित्र जारी आतंकवादलाई परास्त गरेयता ६ प्रतिशतभन्दा बढीको दरले आर्थिक वृद्धि गरिरहेको चर्चा गर्दै उनले भने, ‘यस प्रगतिलाई कायम राख्न र क्षेत्रीय आर्थिक सम्बन्धलाई थप विस्तार गर्न पारस्परिक लाभका आधारमा सम्बन्धलाई अझ बढावा दिनु आवश्यक छ ।’
राष्ट्रपति राजापाक्षले भारतले सार्कका सदस्य मुलुकको जलवायु परिवर्तन, विपद् र शैक्षिक क्रियाकलापका विषयलाई लक्षित गरी छुट्टै सार्क भू–उपग्रह सेवा उपलब्ध गराउने घोषणा गरेकामा भारत सरकारप्रति आभार व्यक्त गरे । उनले दक्षिण एसियामा हवाई सेवा निर्वाध रुपमा सञ्चालन हुनुपर्ने, ऊर्जा विकासमा साझेदारी बढाउनु पर्ने, युवाको सीप विकाससम्बन्धी कार्यक्रमलाई बढावा दिनुपर्ने कुरामा पनि जोड दिए । रासस