मोदीको मिडिया मोह : एकै भाषणमा पैंतिस ट्वीट !

काठमाण्डु टुडे २०७१ मंसिर १० गते ६:५१ मा प्रकाशित

काठमाण्डु, १० मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मिडियाको प्रयोगमा माहिर नेता मानिन्छन् । सार्कको १८ औं शिखर सम्मेलनमा सहभागी हुन काठमाण्डु आएका मोदीले सम्मेलनको उद्घाटन मन्तव्यमा अहिलेको समयलाई ‘सोसल मिडियाको युग’ भएको चर्चा गरे ।

Modi Twitt photo
भाषण वा सिद्धान्तमा मात्रै उनले मिडियाको चर्चा गरेका होइनन्, मोदी व्यवहारमा पनि सोसल मिडियाको प्रयोगमा निकै चतुर नेता मानिन्छन् । काठमाण्डुमा जारी सार्क शिखर सम्मेलनमा मोदीले झण्डै २५ मिनेट लामो भाषण गरेका थिए भने उनको भाषणको लाइभ अपडेट उनको आधिकारिक ट्वीटर एकाउन्टबाट भइरहेको थियो ।

मोदीले सम्बोधनका लागि जति मिनेट लिएका थिए, त्योभन्दा झण्डै दोब्बर मात्रामा ट्वीट भएको थियो । यसबाट पनि उनी सोसल मिडियाको प्रयोगमा सचेत छन् भन्ने पुष्टि हुन्छ ।

बिहान एघार बजेदेखि साढे एघारका बीचमा मोदीको आधिकारिक ट्वीटर एकाउन्टबाट एकतीस पटक ट्वीट र चार पटक रिट्वीट भएको थियो । मोदीको सम्बोधन सकिनासाथ फोटो पनि ट्वीट गरिएको थियो ।

सेकेन्ड–सेकेन्डमा ट्वीट गर्नका लागि मोदीले आफूसँगै ट्वीट सेक्रेटरीहरु पनि लिएर आएको अनुमान गर्न सकिन्छ । अघिल्लो दिन ट्रमा सेन्टर उद्घाटन र नेपाललाई हेलिकप्टर हस्तान्तरण गर्ने कार्यक्रमको पनि मोदीका ट्वीट सेक्रेटरीले लाइभ अपलोड गरेका थिए ।

भारतको प्रधानमन्त्री हुनुअघि पनि उनी भारतीय मूलधारको मिडियालाई आफू अनुकूल प्रयोग गर्न सफल रहेका थिए । अहिले पनि उनलाई मिडियाको आफूअनुकूल प्रयोग गर्न सक्ने नेता मानिन्छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us