राजधानीको सुरक्षा व्यवस्था मजबुत

काठमाण्डु टुडे २०७१ मंसिर १० गते ३:३४ मा प्रकाशित

काठमाण्डु, १० मंसिर– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८औं शिखर सम्मेलनमा भाग लिन आउने सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको सुरक्षालाई दृष्टिगत गरी राजधानीको सुरक्षा व्यवस्थालाई थप मजबुत पारिएको छ । nepal_police

सरकारले सार्क सम्मेलनलाई ध्यानमा राखेर एकीकृत सुरक्षा प्रणाली लागू गरी करिब २८ हजार सुरक्षाकर्मी परिचालन गरेको छ । एकीकृत सुरक्षा योजनामा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई समेटिएको छ ।

यसैगरी राजधानी प्रवेश गर्ने नागढुंगा, बालाजुमाथिको तीनपिप्ले, फर्पिङ र भक्तपुरको जगातीमा नियमित सुरक्षा जाँचको काम भइरहेको छ भने राजधानी प्रवेश गर्ने नाकामा सिसिटिभी जडान गरिएको छ ।

सम्मेलनस्थल राष्ट्रिय सभागृह आसपास पनि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । कुनै पनि कमजोरी नहोस् भनेर विशेष सतर्कता अपनाइएको प्रहरीको भनाइ छ ।  मोटरसाइकल, सार्वजनिक भाडाका सवारीसाधन तथा मालबाहक सवारीसाधनको जाँचलाई पनि निरन्तरता दिइएको छ ।

निजी तथा भाडाका सवारीसाधनलाई चक्रपथभित्र प्रवेशमा समेत कडाइ गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले वैकल्पिक मार्ग प्रयोग गरी सवारी चलाउन आग्रह गरेको छ । सरकारले लागू गरेको एकीकृत सुरक्षा योजनामा हवाइ गस्ती, सडक पेट्रोलिङलगायत सादा पोसाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सोही योजनाअनुसार नै सम्मेलनस्थल, विशिष्ट पाहुनाको आवासस्थल, सडक मार्गमा सुरक्षाकर्मी बाक्लो रुपमा परिचालन गरिएको छ । चोकचोकमा सवारीसाधनसहित सुरक्षाकर्मी तैनाथ गरिएको छ । हेलिकोप्टरबाट गरिने गस्तीलाई समेत नियमित गरिएको छ । विशिष्ट पाहुना आवतजावत गर्ने सडक मार्गलाई पूरै खाली गरिएको छ । जसले गर्दा चक्रपथभित्रको सवारी चापलाई व्यवस्थित बनाउन सजिलो हुने महानगरीय ट्राफिक महाशाखाको भनाइ छ ।

सरकारले शिखर सम्मेलनलाई दृष्टिगत गरेर सवारीसाधन सञ्चालनमा जोर–बिजोर प्रणाली लागू गर्नुका साथै निजी तथा सरकारी साधन सञ्चालनका लागि विशेष पासको व्यवस्था गरेको छ । यो व्यवस्थाबाट सुरक्षा व्यवस्थामा सहयोग पुग्ने सरकारले विश्वास लिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले सम्मेलनलाई केन्द्रित गरेर आवश्यक सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए । सुरक्षा व्यवस्थालाई मजबुत पार्न सूचना प्रणालीलाई समेत व्यवस्थित पारिएको छ । यस्तै मिडिया सेन्टर राखिएको होटल र्‍याडिसन आसपासमा समेत सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाइएको छ । कुनै पनि समस्या नआओस् भन्नेमा सचेतता अपनाइएको सरकारको भनाइ छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us