
म्याग्दी, १० मंसिर– विभिन्न तहका १० जनाको दरबन्दी रहेको मुस्ताङको जिल्ला मालपोत कार्यालय हाल सहायक लेखापाल र कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ ।
दरबन्दीका कर्मचारी नहुँदा कार्यालयको गतिविधि प्रभावित बनेको छ भने सेवाग्राही मर्कामा परेका छन् । कार्यालय सहयोगीबाहेक १० जना कर्मचारीको दरबन्दी रहेको उक्त कार्यालयमा सहलेखापाल यमनाथ पौडेल एक्लै छन् ।
सहायक लेखापाल पौडेल बिरामी, तालिम, गोष्ठी, कार्यक्रममा सहभागी हुँदा तथा बिदामा बस्दा कार्यालयको कामकाज नै ठप्प बन्ने गरेको छ । एक जनाले कार्यालय प्रमुखदेखि विभिन्न फाँटको काम गर्दा समस्या भएको सहायक लेखापाल पौडेलले बताए ।
भूमिसुधार विभागमा हाजिर हुँदै आएका मुस्ताङका मालपोत कार्यालय प्रमुख निरञ्जन श्रेष्ठले दरबन्दीका अन्य कर्मचारी उपलब्ध नभएसम्म जिल्ला नफर्कने बताउँदै आएका छन् ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले कर्मचारी अभावमा सेवाग्राही मर्कामा परेकाले पदपूर्तिका लागि सामान्य प्रशासन र भूमिसुधार मन्त्रालयलाई बारम्बार पत्राचार गरेको बताए । मालपोत कार्यालय मुस्ताङमा दुई नायब सुब्बा, तीन खरिदार, एक टाइपिस्ट, एक मुखिया र एक कम्प्युटर अपरेटर गरी आठ दरबन्दी रिक्त छन् । रासस