मोदीले काँग्रेस–एमालेलाई भने, ‘माओवादी र मधेसीलाई बाहिर राखेर बनाएको संविधान काम छैन’

काठमाण्डु टुडे २०७१ मंसिर ९ गते १६:४२ मा प्रकाशित

modi with nc leaderकाठमाण्डु, ९ मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्तारुढ काँग्रेस–एमालेलाई संविधान निर्माण प्रक्रियामा प्रतिपक्षी दलहरुलाई समेत विश्वसमा लिएर अघि बढ्न सुझाव दिएका छन् ।

आफू बसेको होटल सोल्टीमा दुई दलका नेतासँग बेग्लाबेग्लै भएको भेटमा उनले एमाओवादी र मधेसी मोर्चालाई बाहिरै राखेर जारी गरिने बहुमतीय संविधानले नेपालको हित नगर्ने बताएका हुन् ।

  सबै राजनीतिक दलको सहमतिमा तोकिएकै समयसीमाभित्र लोकतान्त्रिक संविधान जारी गर्न उनको आग्रह थियो ।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले मिलेर अघि बढ्न सुझाव दिएको बताए । जवाफमा आफूहरुले सहमतिका लागि कोसिस जारी रहेको जानकारी गराएको सिटौलाले उल्लेख गरे ।

मोदीलाई नेपालको संविधान निर्माणमा हालसम्म भएको प्रगति, दलहरुबीचको वार्ता र सहमतिका लागि भइरहेका प्रयासलगायत समसामयिक विषयमा जानकारी गराइएको बताए  । भेटमा काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, सहमहामन्त्री पूर्णबहादुर खड्का र कोषाध्यक्ष एवम्  शिक्षामन्त्री चित्रलेखा यादव थिए ।
सबैलाई मिलाउँछुः ओली
modi with uml leaderमोदी र एमाले शीर्ष नेतृत्वबीच पनि भेटघाट भयो । अध्यक्ष केपी ओलीसहित शीर्ष नेता सहभागी भेटमा दुई देशबीचको सम्बन्ध, आपसी चासो र समसामयिक विषयमा केन्द्रित रहेर कुराकानी भएको बताइएको छ ।

भेटमा अध्यक्ष ओलीले जनतासँग गरिएको प्रतिबद्धताका आधारमा बाँकी समयभित्र सबै दललाई मिलाएर संविधान लेखनको जिम्मेवारी पूरा गर्ने बताएका थिए ।

भेटमा सहभागी एमाले उपाध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले अध्यक्ष ओलीले सबैलाई मिलाएर अघि बढ्ने आश्वासन दिएको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us