मोदीको भनाइबाट एमाओवादी उत्साहित

काठमाण्डु टुडे २०७१ मंसिर ९ गते १६:२३ मा प्रकाशित

modi with maoist leaderकाठमाण्डु, ९ मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र एमाओवादीका नेताहरुबीच मंगलबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री मोदी बसेको होटल सोल्टीमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, जारी संविधान निर्माण प्रक्रियालगायतमा छलफल भएको थियो ।
भेटमा शान्ति प्रक्रिया सम्पन्न भएपछि नेपाल आर्थिक क्रान्तितर्फ अग्रसर रहेकाले त्यसलाई सघाउन प्रधानमन्त्री मोदीसँग आफूहरुले आग्रह गरेको एमाओवादीका वरिष्ठ नेता डा.बाबुराम भट्टराईले जानकारी दिए ।

भेटका क्रममा प्रधानमन्त्री मोदीले आफूहरुले उठाउँदै आए झैँ सहमतिका आधारमा संविधान जारी हुनुपर्नेमा जोड दिएको महासचिव कृष्णबहादुर महराले बताए ।
मोदीको भनाइबाट आफूहरुको मनोबल उच्च भएको र कुनै पनि हालतमा सहमतिभन्दा बाहिरबाट संविधान बन्नुहुँदैन भन्ने कुरालाई थप बल पु¥याएको नेता महराले बताए ।
भेटमा अध्यक्ष पुष्पकमल दाहाल, नेता भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव महरा र नेता टोपबहादुर रायमाझी सहभागी थिए ।  रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us