
जाजरकोट, ९ मंसिर– गत मंसिर ४ गते बिहान ना ३ ख १४०८ नम्बरको बस जाजरकोटको भुर गाविस– ७ भुरचौर रावत गाउँबाट भेरी नदीमा दुर्घटना भई मृत्यु तथा बेपत्ता भएका आफन्तले पाँचबुँदे माग राखी जाजरकोट बन्द गरेका छन् ।
बस दुर्घटनामा परी ४८ जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए । सातजना अझै बेपत्ता रहेका छन् ।
आन्दोलनकारीले दुर्घटनामा परेको बसका डाईभर प्रहरीको संरक्षणमा भएको आरोप लगाउँदै कारबाहीका लागि माग गरेका छन् । बेपत्तालाई तत्काल मृत घोषणा गर्नुका साथै मृतकको क्षतिपूर्ति स्वरुप रु पाँच लाख उपलब्ध गराउन माग गरिएको छ ।
त्यस्तै, मृतकका बालबालिकालाई उचित शिक्षादीक्षा अनि छात्रवृत्तिको व्यवस्थाका साथै घाइतेको उपचार मागसमेत गरिएको छ ।
यी माग पूरा नगरेसम्म यहाँका यातायात, सरकारी कार्यालय, बजार सबै बन्द गरिने पीडितले बताएका छन् । रासस