
काठमाण्डु, ९ मंसिर– १८ औं सार्क सम्मेलनमा सहभागी हुन काठमाण्डु आइपुगेका अन्य पाहुनाको तुलनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बढी नै व्यस्त देखिए ।
विशेष विमानमार्फत दिउँसो ३ बजे अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका उनी त्यहाँबाट सीधै होटल सोल्टी पुगे ।
केहीबेर आराम गरे र पोशाक परिवर्तन गरेर उनी भारतीय लगानीमा निर्मित ट्रमा सेन्टर उद्घाटनका लागि वीर अस्पताल पुगे । त्यहाँबाट उनी सैनिक मञ्च टुँडिखेल पुगे ।
टुँडिखेलमा आयोजित एक कार्यक्रमबीच मोदीले नेपाली सेनाका लागि अत्याधुनिक प्रविधिसहितको फाइटर विमान हस्तान्तरण गरे । त्यहाँबाट मोदी सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगे ।
नेपालको लगानी बोर्ड र भारतीय सतलज कम्पनीबीच अरुण तेश्रो जलविद्युत आयोजनाको पिडिए सम्झौतामा हस्तान्तरण गर्ने कार्यक्रममा सहभागी भए ।
त्यहाँबाट बाहिरिएर मोदीले नेपाली समकक्षी सुशील कोइरालासँग संयुक्त रुपमा काठमाण्डु–दिल्ली बस सेवाको उदघाटन गरे ।
सिंहदरबारबाट मोदी शीतलनिवास पुगे । जहाँ उनले प्रमुख प्रतिपक्षी एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सो दलका शीर्ष नेता र मधेस केन्द्रित दलसँग छुट्टाछुट्टै भेट गरे ।
भेटमा उनले आफू नेपालका दलहरुले सहमतिमै तोकिएकै समयमा संविधान जारी गर्नेमा आश्वस्त रहेको बताएका थिए ।
मोदीले मंगलबारै शीतलनिवास पुगी राष्ट्रपति रामवरण यादवसँग शिष्टाचार भेट गरे ।