मृत मानिसको मुटु प्रत्यारोपण गराउने डा. धिताललाई राष्ट्रपति र स्वास्थ्यमन्त्रीको बधाई

काठमाण्डु टुडे २०७१ मंसिर ८ गते ११:०७ मा प्रकाशित

काठमाण्डु, ८ मंसिर– मृत घोषित व्यक्तिको मुटुलाई दोस्रो व्यक्तिमा सफल प्रत्यारोपण गरी चर्चाको शिखरमा पुग्नुभएका मुटुरोग विशेषज्ञ डा कुमुद धिताललाई स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले नेपाल र नेपालीका तर्फबाट बधाई दिएका छन् ।
मन्त्री अधिकारीले आफ्नै कार्यकक्षमा डा. धिताललाई माला लगाएर बधाई दिँदै भने, ‘तपाइँको ज्ञान र अथक प्रयासले स्वास्थ्य क्षेत्रमा ठूलो सफलता मिलेको छ, यसले नेपालीको गौरव बढेको छ ।’

अष्ट्रेलियाको सेन्ट भिन्सेन्ट अस्पतालमा कार्यरत डा धितालले गत कात्तिक ७ गते मृत्यु भइसकेका व्यक्तिको मुटु झिकेर त्यसमा प्राण भरी पुनः अर्का बिरामीको शरीरमा सफल प्रात्यारोपण गरेका थिए ।

‘मनोबलका साथ काम गर्नुस्, तपाईलाई हाम्रो साथ छ, नेपालीको स्वास्थ्यका लागि के गर्न सकिन्छ, यसबारेमा पनि सोचिदिनु होला’, मन्त्री अधिकारीले भने ।

नेपालमा स्वास्थ्य क्षेत्रमा विगत वर्षको तुलनामा सुधार आएको र शिशु मृत्युदर ३२ बाट झरेर २३ मा आएको जानकारी दिँदै उनले सीमित स्रोत र साधनले काम गर्नुपर्ने बाध्यता रहेको बताए ।
‘नेपालमा यो प्रत्यारोपण प्रक्रिया भित्र्याउन सकेमा राम्रो हुन्थ्यो, मुटु काम नलाग्ने भएर मृत्यु हुनेको सङ्ख्या यहाँ बढ्दो छ’, मन्त्री अधिकारीले थपे ।

मन्त्रीको जिज्ञासामा  धितालले नेपालमा मुटु प्रत्यारोपण ज्यादै महँँगो भएको र प्रत्यारोपणमा प्रयोग गरिने अमेरिकी मेसिनको लाखौँ डलर पर्ने जानकारी दिए ।  नेपालमा पनि क्षमतावान् चिकित्सक रहेको उनको भनाइ  थियो ।

स्वास्थ्य मन्त्रीसँग भेट गर्नुअघि डा धिताललाई सोमबारै राष्ट्रपति रामबरण यादवले चिकित्सा क्षेत्रमा राम्रो काम गरेर नेपालीको गौरब बढाउन सफल भएको भन्दै बधाई दिएका थिए ।

पाँच वर्ष लामो अनुसन्धानपछि डा पिटर म्याक रोनाल्ड र डा धितालले मृत व्यक्तिको मुटुलाई पुनर्जीवित गरेर सफल प्रत्यारोपण गरेका थिए ।

आधुनिक चिकित्सा विज्ञानमै लामो फड्को मानिएको उक्त अनुसन्धानका मुख्य शल्यचिकित्सक डा धिताल नै हुन् । सँुगुरमा परीक्षण गरेर लामो अनुसन्धानपछि मानिसमा पनि त्यस्तो मुटु प्रत्यारोपण गर्न सकिएको हो ।

गोरखा पुख्र्यौली घर भएका ५४ वर्षीय डा धिताल पूर्वसचिव विष्णुप्रसाद धितालका कान्छा छोरा हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us