विप्लव पत्र बुझाएर हिंडे, पार्टीले भन्याे – ‘अन्तिमपटक सच्चिएर फर्क’

काठमाण्डु टुडे २०७१ मंसिर ८ गते ११:०० मा प्रकाशित

काठमाण्डु, ८ मंसिर– नेकपा-माअाेवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टी अध्यक्ष माेहन वैद्यलाई ‘सम्बन्ध विच्छेद’को पत्र दिएर पार्टीको केन्द्रीय समिति बैठक बहिष्कार गरेका छन् ।

mohan baidhya-netra bikram chand

अाइतबारदेखि नेवा राज्य समितिकाे कार्यालयमा चलिरहेकाे बैठक विप्लव समूहले बहिष्कार गरेकाे हाे । अाइतबार अध्यक्ष वैद्यले ‘अनुशासन पालना नगर्नेहरु पार्टी छाडेर गए हुन्छ’ भन्ने अभिव्यक्ति दिएका थिए । वैद्यकाे दस्तावेजमा पनि विप्लव पक्षकाे अालाेचना गरिएकाे थियाे ।

सचिव विप्लव पक्षधर वैकल्पिक सहित ४५ जना केन्द्रीय सदस्यले एकसाथ पार्टी बैठक बहिष्कार गरेका हुन् ।

यसअघि पार्टी संस्थापनसँग असन्तुष्ट रहेका सचिव विप्लव पक्षधरले कपिलवस्तुमा आफू पक्षधर नेता कार्यकर्ताको भेला गरेका थिए भने संस्थापनले त्यसबारे स्पष्टिकरण लिने निर्णय गरेकाे थियाे ।

स्पष्टिकरणकाे निर्णय फिर्ता लिएपछि विप्लव पक्ष बैठकमा सहभागी भएकाे थियाे ।

यसैबीच सचिव चन्दले विज्ञप्ति जारी गरी वैद्यसँग सम्बन्ध विच्छेद भएको औपचारिक घोषणा गरेका छन् ।

विज्ञप्तिमा उनले वैद्यको नेतृत्वमा पार्टी अगाडि नबढ्ने र वर्गसंघर्षको नेतृत्व पनि गर्न नसक्ने निकर्षसहित सम्बन्ध बिच्छेद गरिएको उल्लेख छ ।

विज्ञप्तिमा आफूहरुको नयाँ रणनीति छिट्टै सार्वजनिक गर्ने बताइएको छ ।

‘क. किरणको नेतृत्वमा पार्टी अगाडि बढ्न नसक्ने र वर्ग संघर्षको नेतृत्व पनि गर्न नसक्ने निष्कर्षसहित आजका मितिदेखि कमरेड किरणको नेतृत्वसँग सम्बन्ध विच्छेद गरेको जानकारी गराउन चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ, ‘साथै हाम्रो भावी रणनीतिका बारेमा छिट्टै व्यवस्थित निर्णय लिएरु सार्वजनिक गर्ने निर्णय पनि लिइएको छ ।’

उनले विज्ञप्तिमा पार्टीमा जारी गत्यावरोध तोड्न केन्द्रीय समितिको पूर्ण बैठकमा सहभागी भएको भए पनि वैद्यसहितका नेताहरुको भूमिकाले गत्वायरोध झन् बढ्ने देखेर सम्बन्ध विच्छेद गरेको उल्लेख गरेका छन् ।

यता माओवादीको आजको केन्द्रीय समिति बैठकले विप्लवलाई अन्तिम पटक पुनः सच्चिएर पार्टीमा आउन अनुरोध गने निर्णय गरेको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । भुसालले भनिन्, ‘इतिहासमा फेरि अर्को पटक पार्टी नफुटाउन आग्रह गरेका छौं, आफ्ना कमीकमजोरी सच्याएर पार्टीमै फर्कनुहोस् भन्ने हाम्रो विप्लवजीलाई अनुरोध छ ।’

सोमबार बिहान विप्लवले दर्ता गरेको सम्बन्ध विच्छेदको प्रस्ताव भने अस्वीकार गरिएको भुसालले बताइन् । संघर्षका कार्यक्रम तय गर्न माओवादी बैठक बुधबार फेरि बस्ने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us