काठमाण्डु, २ मंसिर– सरकारले २०१७ सम्ममा मुलुकलाई खुला दिशामुक्त गर्ने घोषणा गरेता पनि कुल जनसङ्ख्याको ३० प्रतिशत अझै पनि शौचालयको उपयोग गर्नबाट वञ्चित छन् ।
खानेपानी तथा ढल विकास विभागका महानिर्देशक रामदीप शाहका अनुसार शौचालयको प्रयोग गर्ने ७० प्रतिशत जनसङ्ख्यामध्ये कतिपयले कच्ची चर्पी प्रयोग गरिरहेका छन् ।
२०१७ सम्ममा मुलुकलाई खुला दिशामुक्त गर्ने योजनाअनुसार एक घर एक शौचालयको व्यवस्था गर्ने महानिर्देशक शाहले जानकारी दिए ।
पूर्ववातावरण तथा विज्ञानमन्त्री गणेश साहले शौचालयको अभावले विद्यालय पढ्न जाने विद्यार्थी विद्यालय छाड्न बाध्य भएको अवस्थामा सरकारले एक घर एक शौचालयको योजनालाई तत्काल लागू गर्नुपर्ने बताए ।
‘सार्वजनिक शौचालयको अभावले सहरवासीले मानसिक कष्ट भोग्नुका साथै विभिन्न रोगबाट पीडित हुनुपरेको छ’ साहले भने ।
सार्वजनिक शौचालयको व्यवस्था नहुँदा खासगरी कार्यस्थलमा खटिएका ट्राफिक प्रहरी, महिला टेम्पो चालकलाई सबैभन्दा बढी समस्या हुने गरेको देखिन्छ ।
त्यसैगरी अपाङ्गता भएका व्यक्तिले अपाङ्गमैत्री शौचालयको व्यवस्था गर्नुपर्ने माग गर्दै आएका छन् ।
बुधबार विश्वभर विभिन्न कार्यक्रम गरी मनाउन लागिएको विश्व शौचालय दिवस सरोकारवाला सङ्घसंस्थाले नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाउन लागिएको छ । रासस