काँग्रेस–एमाले दम्भले मुलुक दुर्घटनातर्फ: प्रचण्ड

काठमाण्डु टुडे २०७१ मंसिर २ गते ४:२७ मा प्रकाशित

prachandaकाठमाण्डु, २ मंसिर–एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काँग्रेस र एमालेको बहुमतीय दम्भले मुलुक दुर्घनातर्फ उन्मुख भएको बताएका छन् ।

समयमै संविधान जारी गर्न माग गर्दै ध्यानाकर्षण बुझाउन गएको नेपाल पत्रकार महासंघको टोलीसँग आफ्नै निवास लाजिम्पाटमा कुरा गर्दै उनले सहमतिमा संविधान नआए आन्दोलनका उपलब्धी गुम्न सक्ने बताए ।

काँग्रेस–एमाले १२ बुँदे सहमति, विस्तृत शान्ति सम्झौता तथा विभिन्न जाति, क्षेत्र, वर्ग र लिंगसँग भएका सहमति तोडेर गणतीय आधारमा संविधान बनाउन अघि बढेकाले जटिलता उत्पन्न भएको उनको भनाइ थियो ।

उनले संविधानसभामा सत्तापक्ष र प्रतिपक्ष नुहने भन्दै काँग्रेस–एमालेले आफूलाई सत्तापक्ष र एमाओवादीसहितका दललाई प्रतिपक्ष ठानेर एक्लै हिंडेको आरोप लगाए ।

‘संविधानसभामा कोही प्रतिपक्ष र कोही सत्ता पक्ष हुँदैन’, प्रचण्डले भने, ‘जनआन्दोलनकारी शक्तिको सहमतिमा संविधान बनाउनुपर्नेमा गणितीय दम्भका आधारमा काँग्रेस–एमाले आन्दोलनका सहयात्रीलाई छाडेर एक्लै हिंड्न खोजेकाले समस्या उत्पन्न भएको छ ।’

उनले मधेसी, दलित, जनजाति, महिला र उत्पीडित क्षेत्र तथा वर्गलाई छाडेर बनाइएको संविधानको कुनै अर्थ नहुने बताए । उनले पूर्वसहमति र प्रतिबद्धतामा काँग्रेस–एमाले इमान्दार भए माघ ८ मै संविधान आउने सम्भावनै अझै रहेको उल्लेख गरे ।

प्रचण्डले काँग्रेस–एमालेले संविधान बनेपछिका लागि समेत सत्ताको बाँडफाँड गरेर सात प्रदेशको प्रस्ताव ल्याएकाले मान्न नसकिने जनाए । दुई दलबीच राष्ट्रपति, प्रधानमन्त्री र सभामुखजस्ता महत्वपूर्ण पदमा अहिल्यै भागबण्डाको सहमति भइसकेको दाबी गरे ।

अघिल्लो संविधानसभामा काँग्रेस–एमालेसहित दलका समेत गरेर आफूसँग दुई तिहाईको हस्ताक्षर रहेको र त्यो अहिले पनि सुरक्षित रहेको चर्चा गर्दै उनले काँग्रेस–एमालेलाई सँगै लिएर जान चाहेका कारण दुई तिहाईको बलमा संविधान नबनाएको उल्लेख गरे ।

‘अघिल्लो संविधानसभामा मसँग दुई तिहाई सभासदको हस्ताक्षर थियो, मैले एक्लै जान चाहिन’, प्रचण्डले भने, ‘तर अहिले हामी कमजोर भएको अवस्थामा काँग्रेस–एमालेले आन्दोलनका सहयात्री हामीलाई छाडेर एक्लै हिंड्न खोजेका छन्, यसले मुलुकलाई दुर्घटनामा लैजान्छ ।’
अर्को फरक प्रसंगमा उनले पार्टी विशेषका एजेण्डा र रणनीति बोकेर नहिँड्न पत्रकारहरुलाई आग्रह गरे ।

उनले विगतमा राज्यले विभिन्न वर्ग, जाति, क्षेत्र र लिंगका जनतासँग गरेको बाचा पूरा गर्न दबाब दिनुपर्नेमा पत्रकारहरु दल विशेषको एजेण्डा बोकेर हिंडेको भन्दै आपत्ति जनाए  ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us