नेपालमा जन्मेको एक महिना नपुग्दै हुन्छ १३ हजार शिशुको मृत्यु

काठमाण्डु टुडे २०७१ मंसिर १ गते १४:२१ मा प्रकाशित

काठमाण्डु, १ मंसिर– झाडा पखाला, निमोनिया तथा अन्य सङ्क्रमणबाट मर्ने शिशुको तुलनामा महिना नपुगी जन्मेका शिशुको मृत्यु धेरै हुनाले थप स्वास्थ्य चुनौती बन्दै गएको छ ।

नेपालमा हरेक वर्ष करिब १३ हजार शिशुको मृत्यु जन्मेको एक महिना नपुग्दै हुन्छ, तीमध्ये छ हजार ९०० शिशुको मृत्यु जन्मेको पहिलो एकदिनमै हुने गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क छ ।

महिना नपुगी जन्मिएका शिशुकाबारेमा जनचेतना जगाउन  पहिलो पटक सोमबार राजधानीमा मनाइएको ‘विश्व महिना नपुगी जन्मिएका शिशुहरु’ दिवसमा पाँच वर्षमुनिका बच्चाको कुल मृत्युदरमध्ये महिना नपुगी जन्मेका शिशुको मृत्यु सर्वाधिक रहेको जानकारी दिइयो ।

पाँच वर्षमुनिका शिशुको कुल मृत्युदरमध्ये महिना नपुगी जन्मिएका कारण हुने समस्याबाट मर्ने शिशुको मृत्यु सर्वाधिक रहेको सम्बन्धमा ध्यानाकर्षण जगाउने ध्येयले हरेक वर्षको नोभेम्बर १७ का दिन यो दिवस मनाउन सुरु गरिएको हो ।
गर्भ रहेको २८० दिन अर्थात् ४० हप्तापछिको शिशुलाई परिपक्व भन्ने गरिन्छ । ३७ हप्ताभन्दा कमलाई अपरिपक्व शिशु भन्ने गरिन्छ ।

मन्त्रालय र सेभ दि चिल्डे«नद्वारा संयुक्तरुपमा आयोजित कार्यक्रममा बाल विशेषज्ञ प्रा डा रमेशकान्त अधिकारीले  पाँच वर्षमुनिका बालमृत्युदरमध्ये महिना नपुगी जन्मिएको शिशुको मृत्यु उच्च रहेको हुँदा यसतर्फ सबैको ध्यान जानुपर्छ भने ।

उनले ३७ वर्षभन्दा कम जन्मेका शिशुले रोगसँग लड्ने, तापक्रम सहन गर्न सक्ने तथा अन्य सङ्क्रमणबाट जोगिन सक्ने क्षमता विकास गर्न नै नसक्ने हुनाले मृत्युको उच्च जोखिम हुने जनाए ।

कम उमेरअर्थात् १७ वर्षभन्दा कम तथा बढी उमेर ४० वर्षभन्दा माथि बच्चा जन्माउनु, गर्भ अवस्थामा मदिरा तथा सुर्ती सेवन, पोषणको अभाव जस्ता कारणले महिना नपुगी शिशु जन्मिने  प्रा डा अधिकारीले बताए ।

सेभ दि चिल्डे«नका कार्यक्रम संयोजक भरत वनले बालमृत्युदर घटाउनका लागि महिना नपुगी जन्मिएका शिशुका लागि कार्यक्रम सञ्चालन तथा जनचेतनाका कार्यक्रम सञ्चालन गर्न आवश्यक भएको बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us