काठमाण्डु, १ मंसिर– कांग्रेस– एमालेसहितका सत्तारुढ दलका सभासदले आफूहरुद्वारा प्रस्तुत सात प्रदेशको प्रस्ताव छलफलका लागि संविधानसभामा लैजान संवैधानिक–राजनीतिक संवाद तथा सहमति समिति सभापति बाबुराम भट्टराईलाई दबाब दिएका छन् ।
समितिको सोमबार साँझ सिंहदरबारमा बसेको बैठकमा उनीहरुले हस्ताक्षर बुझाएका हुन् । काँग्रेस उपसभापति रामचन्द्र पौडेलले हस्ताक्षर सभापति भट्टराईलाई बुझाए ।
प्रक्रियामार्फत अघि बढ्न माग गर्दै प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओलीलगायत ४३ सदस्यले हस्ताक्षर गरेका छन् ।
बैठकपछि उपसभापति पौडेलले बहुमत सदस्यको भावनाअनुसार सभापतिले प्रस्ताव अघि बढाउनुपर्ने बताए ।
स्रोतका अनुसार बैठकमा प्रतिपक्षी दलका सभासदले भने दलीइ प्रस्ताव समितिले अघि बढाउन नसक्ने अडान दोहोर्याएका थिए ।
प्रस्ताव लानै पर्ने सत्ता पक्षको अडान र लानै नहुने भन्दै प्रतिपक्ष प्रतिवादमा उत्रिएपछि बैठकमा केहीबेर चर्काचर्कीसमेत भएको थियो ।