काठमाण्डु, १ मंसिर– नेकपा– माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ ले सशस्त्र युद्धको तयारी गरिरहेका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ एक नम्बरको फन्टुस मानिस भएको टिप्पणी गरेका छन् ।
४ मंसिरमा ललितपुरको कुपण्डोलस्थित नेवा: राज्य समिति कार्यालयमा सोमबार भएको कार्यक्रममा बादलले विप्लवले क्रान्तिको हावादारी कुरा गर्दै हिंडेको टिप्पणी गरे ।
विप्लव बामपन्थी खोल ओढेको दक्षिणपन्थी भएको उनको आरोप थियो । महासचिव बादलले विप्लवलाई नांगेझार पार्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
‘विप्लव पहिल्यैदेखि फन्टुस मान्छे हुन्’, बादलको भनाइ उद्धृत गर्दै भेलाका एक सहभागीले काठमाण्डु टुडेसँग भने, ‘उनको बाम खोलभित्रको दक्षिणपन्थी चरित्र नांगेझार पार्नुपर्छ ।’
नेकपा–माओवादी काठमाण्डुका सचिव सुरेश श्रेष्ठका अनुसार बादलले विप्लवको कार्यशैली फुटपरस्त र पार्टीविरोधी भएको बताएका थिए । बादलले विप्लले क्रान्तिका नाममा क्रान्तिविरोधी हर्कत गरेकाले सच्चिन आग्रह गरे ।
बादलले पार्टी केन्द्रीय समितिले जनवादी क्रान्ति जिन्वादको नारा लेख्ने निर्णय साउनमै गरेको भन्दै अहिले जनवादी क्रान्ति भनेर भित्ता रङग्याउँदैमा कोही क्रान्तिकारी हुन नसक्ने दाबी गरे ।
महासचिव बादलले एकीकृत माओवादी उपाध्यक्ष बाबुराम भट्टराई र विप्लवबीच सहकार्य रहेको आरोप लगाए ।
बाबुरामले केन्द्रीय समिति बैठक बहिस्कार गर्नु र विप्लवले कपिलवस्तुको शिवगढी जंगलमा भेला गर्नुलाई संयोग मात्र भन्न नमिल्ने उनको तर्क थियो ।