मोदीले सम्बोधन कहाँ गर्ने भन्नेमा समेत विवाद

काठमाण्डु टुडे २०७१ मंसिर १ गते १३:१२ मा प्रकाशित

जनकपुर, १ मंसिर – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सार्क सम्मेलनमा भाग लिन जनकपुर हुँदै राजधानी जाने कार्यक्रम सार्वजनिक भएपछि स्थानीयवासीले उनको नागरिक अभिनन्दन र सम्बोधन स्थानीय बार बिघा मैदानमा नै हुनुपर्ने माग गरेका छन् ।

narendra modiमोदीको भ्रमणलाई लिएर स्वागत समिति निर्माण गर्न आयोजना गरिएको कार्यक्रममा अधिकांश सभासदले सो माग गरेका छन् ।

भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधिको उपस्थितमा आयोजना गरिएको कार्यक्रममा धनुषा महोत्तरीका सभासद्, राजनीतिक दलका प्रनितिधिले सो माग गरेका छन् ।

कार्यक्रममा बोल्दै मन्त्री निधिले आफ्नो चाहनासमेत मोदीको नागरिक अभिनन्दन बार बिघामा हुनुपर्ने भएपनि त्यो सम्भव हुन नसकेको बताए । निधिले मोदी आउने पक्का भएपनि उनी कसरी आउने विषयमा अझै टुङ्गोमा पुग्न नसकेको बताए ।

एक÷दुई दिनभित्र भारतीय राजदूत दिल्ली जाने र त्यसपछि मोदीको कार्यक्रमको सम्पूर्ण कार्यक्रम आउने निधिले जानकारी दिए । भारतीय प्रधानमन्त्री यही ९ गते जनकपुर हुँदै राजधानी जाने कार्यक्रम रहेको छ ।

मन्त्री निधिले नेपाल–भारत सरकारको सहमतिमा नै मोदी जनकपुर आउने कार्यक्रम रहेको उल्लेख गर्दै उनले नेपाल सरकार, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय तथा भारतीय दूतावासले नै मोदी नागरिक अभिनन्दन बार विघामा हुने सम्भावना नभएकाले जानकी मन्दिरमा आयोजना गर्ने निर्णय गरेको उल्लेख गरे ।

उनले जनकपुर अयोध्या, लुम्बिनी, गया, काठमाण्डु, बाराणसीको लागि भगिनी शहरको अवधारणासमेत आइरहेको जानकारी दिए ।

मन्त्री निधिले मोदी जनकपुर आउँदा आफ्नो नागरिक सम्बोधनको क्रममा पर्यटन, जलचर, कृषि, शिक्षा तथा संस्कृतिलगायत पाँच कुरामा जोड दिने जनाए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us