
धनगढी, ३० कात्तिक– सर्ट, पाइन्ट लगाएको देखे वा भेटेमा शिकार पर्दैन भनेर राउटे समुदायमा विश्वास गरिन्छ ।
प्रायः बाँदरको शिकार गर्ने नेपालको यो लोपोन्मुख जातिले त्यसरी मानिस भेटिए ईश्वर रिसाएको ठान्छन् तर, यो विश्वासको दलदलबाट निस्केर एक राउटे चेली सर्ट, पाइन्टमा देखा परेकी छन्, त्यो पनि प्रहरी पोशाकमा ।
अहिलेसम्म फिरन्ते र जंगली जीवनशैलीको रुपमा पहिचान देखाउँदै आएको राउटे समुदायमा रुपान्तरणको झलक देखिएको छ । त्यसको उदाहरण बनेकी छन्, डडेलधुरा आलीटालकी कमला राउटे ।
एक वर्षदेखि नेपाल प्रहरी सेवामा सक्रिय उनी नेपालकै प्रथम राउटे प्रहरी महिलाको रुपमा आफ्नो पहिचान बनाउन सफल भएकी छन् । प्रहरी अधिकारीहरुका अनुसार राउटे जातिबाट अन्य दुईजना पुरुष प्रहरी जागिर खाइरहे पनि महिलामा कमला नै प्रथम हुन् । प्रहरी संगठनमा उनलाई राउटे ‘सेलिब्रिटी’रुपमा चिन्न थालिएको छ ।
२०७० सालमा खुल्ला प्रतिष्पर्धा गरी उनी नेपाल प्रहरीमा भर्ना भएकी हुन् । ‘प्रहरी जागिरे हुन्छु भन्ने दृढ आाटका कारण यो स्थानसम्म आइपुग्न सफल भएँ, कमलाले भनिन्, ‘यहाँसम्म पुग्न पाएकोमा साह्रै खुशी लागेको छ ।’
सितीमिती बोल्न नचाहने लजालु स्वभाव र गोरी वर्णकी कमलालाई प्रहरी जागिर खानका लागि परिवारबाट भने अवरोध भएन । उनको परिवारमा धेरैजना सदस्य रहेका छन् । साइलाको छोरी उनले आफू अलि जान्ने बुझ्ने भएपछि परिवारभित्र समस्यै समस्या देखिन् । त्यही समस्याकै कारण केही गर्छु भन्ने विश्वास कमलामा सानैदेखि पलाएको थियो ।
उनले परिवारलाई उकास्नका लागि आफू अध्ययन गर्नुपर्ने सोचाइका साथ आफ्नो माध्यामिक तहसम्मको शिक्षालाई निरन्तरता दिइ २०६९ सालको एसएलसी परीक्षामा पास भएकी थिइन् । त्यही बेला दीपायलमा प्रहरी भर्ना खुलेपछि फाराम भरेकी उनी प्रहरी बन्न सफल भएकी हुन् ।
गोरखापत्र दैनिकबाट