काठमाण्डू, २६ कात्तिक– म्याग्दी रुमका विद्यार्थी १२ बजे मात्र विद्यालय पुग्छन् र ३ नबज्दै घरतर्फ दौडिन्छन् । यो उनीहरुले लापर्वाही गरेका होइनन् । घरदेखि विद्यालय टाढा भएका कारण विद्यार्थीहरु समयमा नै विद्यालय पुग्न सक्दैनन् त्यसमाथि घरमा काम सधाउनु पर्ने बाध्यता त छँदैछ ।
रुम–४ मा अवस्थित राष्ट्रिय मावि र ९ मा रहेको अमरज्योति माविमा पढ्ने सोही गाविसको ७ नम्बर वडामा पर्ने पात्ले, घाङ्लेपानी र सुरुङ्खाल्टाका विद्यार्थीले हिउँदको समयमा त अझ बढी कक्षा छाड्नु पर्ने बाध्यता रहेको छ । बिहान घरको काममा अभिभावकलाई सघाएर तीन घण्टा हिँडेर विद्यालय पुग्ने र ३ बजे नै विद्यालयबाट नहिँडे समयमा घर नपुगिने हुँदा तीन वटा विषयको कक्षा नै छाड्नु परेको राष्ट्रिय माविको कक्षा ९ मा अध्ययनरत पात्लेखर्ककी छात्रा मीनाकुमारी रोकाले बताइन् ।
अप्ठ्यारो तथा जङ्गलको बाटो भएर विद्यालय पुग्ने करिब सय जना विद्यार्थी विद्यालय टाढा हुँदा र विद्यालयमा छात्रावासको सुविधा नहुँदा गृहकार्य र घरमा अध्ययन गर्न समेत पाउँदैनन । पैदलयात्राका क्रममा थकाइ लाग्ने हुँदा घरमा पढ्नसमेत नपाउने र कक्षाकोठामा शिक्षकले पढाएको बुझ्न नसक्ने समस्याका कारण कतिपय विद्यार्थीले बिचैमा कक्षा छाड्ने गरेका छन् ।
भौगोलिक विकटताका कारण पढ्नका लागि धेरै समय हिँड्नुपर्ने बाध्यताका कारण विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गराउन नसक्दा विद्यालयको शैक्षिक अवस्थासमेत कमजोर बनेको राष्ट्रिय माविका प्रधानाध्यापक अमरसिंह पुनले बताए । उक्त विद्यालयमा हाल ५ सय ५० जना अध्ययनरत छन् ।