युद्धकालीन सेल्टर पुगेर भावुक भइरहेछन् प्रचण्ड

काठमाण्डु टुडे २०७१ कार्तिक २५ गते १२:४६ मा प्रकाशित

काठमाण्डु, २५ कात्तिक– एकीकृत नेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ युद्धकालीन सेल्टर चहार्दै नोस्टाल्जिक भइरहेका छन् । मंगलबार उनी रोल्पाको राङ्सी पुगेर आफू बसेको घरको निरीक्षण गरे ।

prachanda
रोल्पा सदरमुकामदेखि २४ कोस पश्चिममा पर्ने राङ्सीको रामकोटा डाँडागाउँका रणबहादुर घर्ती मगरको घरको अवलोकन गरेका थिए । घर्तीको घरमा प्रचण्डले २०६१ सालमा हेर्डक्वाटर बनाएको बताए ।

उनले रोल्पाका बंकरभित्र आफू लुकेको दिन पनि सम्झे । प्रचण्डसँगै उनका सहयोगी, माओवादीका पूर्व लडाकु र सरकारी सुरक्षाकर्मीले तस्विर पनि खिचाए । २०६२ फागुनसम्म बसेको घरमा उनले १ घण्टा बिताए ।

युद्धकालीन हेडक्वार्टरमा पुगेर युद्धको सम्झना गर्नु भनेको शान्ति प्रक्रियालाई सार्थक रुपमा टुंग्याउने प्रेरणा लिनु भएको पनि उनले बताए । ‘म यहाँ आउनु, फेरि युद्ध गर्नु भन्ने होइन, बरु जनमुखी संविधानका लागि दबाब दिनु हो,’ प्रचण्डले भने ।

राजधानीमा संवैधानिक समितिको बैठक र आफ्नै पार्टीभित्रको असन्तुष्टीलाई थाँती राखेर प्रचण्ड सोमबार रोल्पा पुगेका थिए । उनीसँगै एमाओवादी महासचिव कृष्णबहादुर महरा र सचिव वर्षमान पुन पनि रोल्पा पुगेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us