वैद्य र विप्लवको जुहारी, सस्तो लोकप्रियताका लागि जथाभावी नगर्न चेतावनी

काठमाण्डु टुडे २०७१ कार्तिक २५ गते १२:२० मा प्रकाशित

काठमाण्डु, २५ कात्तिक – नेकपा–माओवादीको मंगलबार बसेको पोलिट्ब्युरो बैठकले पार्टी सचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई अलग गतिविधिहरु तुरुन्तै रोक्न निर्देशन दिएको छ । बैठकपछि अध्यक्ष मोहन वैद्य ‘किरण’ र महासचिव रामबहादुर थापा ‘बादल’ले संयुक्त वक्तव्य जारी गर्दै यस्तो निर्देशन दिएका हुन् ।

communist flag
विप्लवको गतिविधिलाई माओवादीले ‘पार्टी पद्धतिविपरीतको गतिविधि’ भनेको छ । विज्ञप्तीमा त्यस्ता गतिविधि रोकेर पार्टीलाई एकताबद्ध तुल्याउन निर्देशन दिने उल्लेख गरिएको छ । विप्लव पक्षले भने केही समययता देशभरि नयाँ संगठन बनाउँदै आएका थिए भने विभिन्न ठाउँमा ‘नयाँ जनवादी क्रान्ति जिन्दावाद’ को भित्तेलेखन गरेको थियो ।

संस्थापन पक्षसँग असन्तुष्ट सचिवा विप्लव पक्षले भने मंगलबारको पोलिट्ब्युरो बैठक बहिष्कार गरेको थियो । माओवादीले आगामी कात्तिक २९ गते केन्द्रीय समितिको बैठक बोलाएको छ भने मंसिर ६ गते विस्तारित केन्द्रीय समितिको बैठक आव्हान गरेको छ ।

संविधान सभा विघटनको माग गर्दै आगामी मंसिर ४ गते संविधान सभा बाहिर प्रदर्शन गर्ने पनि पार्टीले निर्णय गरेको छ ।

यता विप्लवले भने कात्तिक २६ देखि नै आफ्नो छुट्टै राष्ट्रिय भेला गर्ने समाचारहरु आएका थिए । उनले पार्टीले केन्द्रीय समितिको बैठक नबोलाइएको आरोप पनि लगाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us