विद्युतगृहबिना शे–फोक्सुन्डोमा विद्युत् उत्पादन

काठमाण्डु टुडे २०७१ कार्तिक २५ गते ११:५५ मा प्रकाशित

डोल्पा, २५ कात्तिक – डोल्पाको फोक्सुन्डो गाविसको रिग्मो गाउँमा अवस्थित नेपालकै गहिरो शे–फोक्सुन्डो तालबाट निस्केको पानीबाट विद्युत् उत्पादन गरिएको छ ।

विश्व वन्यजन्तु कोषको आर्थिक सहयोग र क्यानडा, संयुक्त राज्य अमेरिका डब्लुएफएफको प्राविधिक सहयोगमा पाँच किलोवाट विद्युत् निकालिएको हो ।

तालसम्म पुग्ने हजारौँ विदेशी र स्वदेशी पर्यटकको सेवा सुविधालाई मध्यनजर गरी गत वैशाखबाट विद्युत् उत्पादन सुरु गरिएको निर्माण कम्पनी न्यू इनर्जीले बताएको छ ।

तालबाट निस्केको पानीलाई थुनेर खुलारुपमा जेनेरेटर राखेर विद्युतगृहबिना नै विद्युत् उत्पादन गरिएको छ । नेपालमै नयाँ प्रविधिबाट यस ठाउँमा विद्युत निकालिएको कम्पनीले जनाएको छ । यस जलविद्युत्मा प्रयोग गरिएको जेनेरेटरको जम्मा तौल ३४१ किलो रहेको छ ।

विद्युत उत्पादनपछि ताल वरपरका वस्तीमा उज्यालो छाएको स्थानीयवासी निमा लामाले बताउनुभयो । आजभोलि सो ठाउँमा चौबिसै घन्टा विद्युत् सेवा सुचारु रहेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us