दार्चुला , २५ कात्तिक – दार्चुलाको शिखर गाविस बलाँचमा निर्माण भइरहेको चमेलिया जलविद्युत् आयोजनामा व्यापक अनियमितता भएको भन्ने खबरहरु बाहिर आएपछि स्थलगत अध्ययनका लागि महालेखा नियन्त्रण कार्यालयको टोली दार्चुला आइपुगेको छ ।
चमेलियामा ठूलो आर्थिक अनियमितता भएको भन्दै व्यवस्थापिका–संसद्मा समेत आवाज उठेपछि यसबारे थप अध्ययन गर्न महालेखा नियन्त्रक भानुप्रसाद आचार्य नेतृत्वको सात सदस्यीय टोली सोमबार दिउँसो आयोजनाको निर्माणस्थल बलाँच आइपुगेको हो । टोलीले निर्माणाधीन आयोजनाको स्थलगत अध्ययन तथा निरीक्षण गरिरहेको प्रहरी चौकी बलाँचका इन्चार्ज सहायक प्रहरी निरिक्षक नरबहादुर सिंहले जानकारी दिए ।
टोलीले आज पनि आयोजनाको विस्तृत रुपमा अध्ययन गरी बेलुकीतिर फर्कने कार्यक्रम रहेको उनले बताए । २०६३ पुसमा सिभिल ठेक्का सम्झौता भएको चमेलियाको पटक–पटक गरी करिब पाँच अर्ब ४१ करोड भेरिएसन स्वीकृत भइसकेको छ । ३० मेगावाट क्षमताको उक्त आयोजना सुदूरपश्चिमकै पहिलो ठूलो जलविद्युत् आयोजना हो । रासस