काठमाण्डु, २५ कात्तिक – नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाले संविधान लेखनका विषयमा नेपाली काँग्रेस र नेकपा एमालेले सार्वजनिक गरेको साझा अवधारणा समानुपातिक–समावेशीको सिद्धान्त विपरीत रहेको भन्दै आफ्नो असहमति जनाएको छ ।
मोर्चाका अध्यक्ष तिलक परियारले मङगलबार जारी गरेको विज्ञप्तिमा विघटित संविधानसभाले गरेका जनपक्षीय व्यवस्था र अन्तरिम संविधानको धारा २१ ले प्रत्याभूत गरेको दलितको अधिकारसमेत खोस्ने गरी साझा अवधारणा आएको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ – “राज्यले ऐतिहासिक उत्पीडनको क्षतिपूर्तिसहित सम्मानजनक पूर्ण समानुपातिक प्रतिनिधित्व नीति, विधि र ऐनकानुन निर्माण गर्ने थलोमा पहँुच सुनिश्चितता र राज्यसत्ताका सम्पूर्ण अङ्ग, निकाय र क्षेत्रमा विशेषाधिकारसहितको सहभागिताबिना दलित समुदाय अन्य समुदायसरह माथि उठाउन सम्भव छैन ।”
राज्यका सबै क्षेत्रमा दलित समुदायको विशेषाधिकारसहितको सहभागिताको सुनिश्चितताका लागि सबै दलितले आन्दोलन अगाडि बढाउन आवश्यक रहेकामा मोर्चाले जोड दिएको छ । रासस