सार्कले शान्ति र समृद्धिको लागि काठमाण्डु घोषणापत्र जारी गर्छ : परराष्ट्रमन्त्री

काठमाण्डु टुडे २०७१ कार्तिक २५ गते ९:४६ मा प्रकाशित

काठमाण्डु, २५ कात्तिक – परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले सार्कको आसन्न १८ औं शिखर सम्मेलनले शान्ति र समृद्धिको लागि एकता विषयको काठमाण्डु घोषणा पत्र जारी गर्ने बताएका छन् ।

mahendra bdr pandeyरिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा मन्त्री पाण्डेले घोषणपत्रमा गुणस्तरीय शिक्षा, सन् २०३० सम्ममा सार्कबाट निरक्षरता उन्मुलन गर्ने, ज्ञान शिप र चरित्र निर्माणमुलक शिक्षा प्रदान गर्ने, महिला हिंसाको अन्त्य, आर्थिक समृद्धिको लागि यूवा रोजगार, आतंकबादको अन्त्य, जेष्ठ नागरिकको सम्मान, हतियार भन्दा ठूलो चेतना भएको भन्दै त्यसको लागि सकारात्मक सोच जस्तो विषयहरुलाई समेटिने जानकारी दिए ।

साक्षात्कारमा मन्त्री पाण्डेले शिखर सम्मेलनमा सार्क क्षेत्रभित्र निर्वाध सवारी साधन आवतजावत, रेलमार्गको विकास, उर्जा विकास आदान–प्रदान, विकासको नाममा हुने बातावरणीय क्षती र प्राकृतिक प्रकोपमा सर्तकता लगायतका तीन सम्झौताहरुमा हस्ताक्षर हुने बताए ।

त्यस्तै १७ औ सार्क शिखर सम्मेलनसम्म भएका सम्झौताहरुलाई कार्यान्वयनको विषयमा पनि महत्वपूर्ण छलफल हुने बताए ।

अठारौ सार्क शिखर सम्मेलनको सफल आयोजना मुलुकको प्रतिष्ठासँग जोडिएको विषय भएकोले सबैले मिलेर यसलाई सफल बनाउनु पर्नेमा उनले जोड दिए ।

नेपालले सार्क शिखर सम्मेलनको सम्पूर्ण तयारी पुरा गरेको र भौतिक निर्माण सम्बन्धी काम पनि यो महिनाको अन्त्यसम्म समाप्त हुने गरी सम्बन्धीत मन्त्रालयले काम गरिरहेको जानकारी दिदै राष्ट्रप्रमुखसहित डेलिगेसनहरुको आवासको ब्यवस्था समेत पुरा भईसकेको बताए ।

मन्त्री पाण्डेले मुलुक संविधान निर्माणको क्रममा रहेको बेला केही असहमति बाहिर आउनु स्वभाविक भएपनि संबाद समितिले बैठक सुरु गरेकोले परिस्थिति सुधारोनोन्मुख रहेको तर्क गर्दै माघ ८ गतेभित्रै संविधान जारी हुने विश्वास बढेको बताए ।

मन्त्री पाण्डेले रिपोर्टर्स क्लब नेपालले सार्क सम्मेलन सफल पार्ने उद्देश्यले आजबाट सुरु गरेको अन्तरक्रिया कार्यक्रमको प्रशंसा गर्दै सम्मेलन नसन्जेलसम्म पनि निरन्तरता दिन आग्रह गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us