काठमाण्डु, २५ कात्तिक – दक्षिण एसियाली सहयोग सङ्गठन(सार्क)को १८ औँ शिखर सम्मेलनले वातावरण तथा प्रकोप व्यवस्थापन केन्द्र स्थापनाको घोषणा गर्ने भएको छ ।
शिखर सम्मेलन तयारीबारे राजधानीमा मङगलबार भएको अन्तक्र्रियामा सार्कका महासचिव अर्जुनबहादुर थापाले विभिन्न विषयका सार्क केन्द्रलाई एकआपसमा गाभेर नयाँ केन्द्रको स्थापना गर्ने तयारी गरिएको जानकारी दिए ।
सार्क सदस्य राष्ट्रका सरकार प्रमुख सार्क सङ्गठनमार्फत यस क्षेत्रको विकासमा एकमत भएर अगाडि बढ्न सकारात्मक रहेकाले यसपटकको सम्मेलन उपलब्धि पूर्ण हुने उनको विश्वास थियो ।
सार्कले नीतिगत सामन्जस्यता ल्याउन पहल गरिरहेको उल्लेख गर्दै महासचिव थापाले विगतमा भएका निर्णयलाई प्रभावकारी कार्यान्वयनमा लान यो सम्मेलन अर्थपूर्ण हुने उल्लेख गरे ।
नेपाल सार्क सम्मेलनको आयोजक बनेको तेस्रो पटक भएकाले यस पटकको तयारीमा कुनै पनि कमी नहुने उल्लेख गर्दै सार्क सचिवालय र नेपाल सरकारले गर्ने तयारी पूरा भएको स्पष्ट पारे । रासस