पाँच करोडको पानी ट्याङ्की, जनता खुसीले गदगद

काठमाण्डु टुडे २०७१ कार्तिक २५ गते ८:११ मा प्रकाशित

झापा , २५ कात्तिक – झापाको डाँगीवारी–८ स्थित बाह्रदशीमा खानेपानीको सहज आपूर्ति हुने भएपछि त्यस क्षेत्रका स्थानीयवासी हर्षित भएका छन् ।

साधुकुट्टी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको पहल र खानेपानी तथा सरसफाइ कार्यालय चन्द्रगढी झापाको पाँच करोडको लागतमा खानेपानी ट्याङ्की निर्माण प्रारम्भ भएसँगै सो क्षेत्रका स्थानीयवासी हर्षित भएका हुन् । दुई लाख २५ हजार लिटर पानी राख्न सकिन ट्याङ्की निर्माण प्रारम्भ भएसँगै डाँगीवारी र चकचकी गाविसमा सहज रुपमा पानी आपूर्ति गर्न सकिने स्थानीय जीवन पनेरुले बताए ।

विसं २०७३ भित्र खानेपानी ट्याङ्कीको निर्माण कार्य सम्पन्न गरी डाँगीवारी र चकचकी गाविसका दुई हजारभन्दा बढी परिवारलाई सहज रुपमा शुद्ध पिउने पानी वितरण गरिने साधुकुट्टी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष मधुराम पनेरुले जानकारी दिए ।

डाँगीवारी गाविसको चारैतिर समथर भूभाग भए पनि बाह्रदशीमा अग्लो गाडो भएका कारण ट्युबवेल गाड्न समस्या भएपछि त्यस क्षेत्रका स्थानीयवासी एक किलोमिटर तलसम्म पानी लिन जान बाध्य छन् ।

ऐतिहासिक र धार्मिक महत्व बोकेको कञ्चनगढ गौरीशङ्कर शिवालय मन्दिरले खानेपानी निर्माणका लागि आठ कट्ठा जग्गा उपलब्ध गराएसँगै खानेपानी ट्याङ्कीको निर्माण कार्य सुरु गरिएको उपभोक्ता समितिका सचिव कमल चम्लागाईंले उल्लेख गरे ।

खानेपानी ट्याङ्की निर्माणसँगै उक्त समितिले खानेपानी कार्यालय सञ्चालनका लागि आठ कोठे पक्की भवनसमेत निर्माण गरेको जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us